भरतपुर । भरतपुर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालय (मन्टेसरीसमेत) लाई शैक्षिक सत्र २०८३ को कक्षा सञ्चालन बैशाख १५ गतेदेखि मात्रै सुरु गर्न निर्देशन दिएको छ। महानगरले शैक्षिक गतिविधिमा एकरूपता कायम गर्ने उद्देश्यले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
नगर शिक्षा समिति, भरतपुर महानगरपालिकाको निर्णय तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्देशनअनुसार जारी सूचनामा बैशाख १५ गतेअघि कुनै पनि विद्यालयले विद्यार्थी भर्ना, प्रवेश परीक्षा सञ्चालन, नतिजा प्रकाशन वा यससँग सम्बन्धित अन्य गतिविधि नगर्न स्पष्ट रूपमा रोक लगाइएको उल्लेख छ।
महानगरपालिकाका अनुसार विगतमा विद्यालयहरूले आ–आफ्नै तरिकाले भर्ना तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दा असन्तुलन देखिएकाले अब सबै विद्यालयलाई एउटै समयसीमाभित्र ल्याउन यो कदम चालिएको हो। यसले विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
त्यसैगरी, सरकारले तय गरेको मापदण्डअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था समेत पूर्ण रूपमा लागू गर्न महानगरले निर्देशन दिएको छ। सबै विद्यालयलाई आफ्नो वार्षिक शैक्षिक कार्ययोजना तयार गरी एकरूप ढङ्गले लागू गर्न समेत आग्रह गरिएको छ।
महानगरपालिकाले जारी निर्देशनको पालना नगर्ने विद्यालयलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न समेत आग्रह गरिएको छ।




















उज्यालो खबर











