×

गैँडाकोट-  नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सव एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सव सुरु भएको १२औँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

जिल्ला उद्योग वाणिज्य संघले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको हो । मंगलबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै सापकोटाले महोत्सवमा नवलपुरबाट मात्रै नभई चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाको भनाइ छ ।

महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै संरक्षक सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत मंगलबार चर्चित कलाकारहरु शान्तिश्री परियार, सिर्जना खत्री हाउडे मायालगायतले प्रस्तुती राखेका छन् ।

महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै सीमा थापा मगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका लम्सालले बताए । त्यस्तै बुधबार महोत्सवमा चर्चित कलाकारहरु प्रजापति पराजुली, गायिका रचना रिमालसहितको प्रस्तुती रहने लम्सालको भनाइ छ । लम्सालका अनुसार बुधबारका अन्य कलाकारहरुमा उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया