×

गैँडाकोट-  गजल मञ्च चितवनले सञ्चालन गर्दै आएको ‘गजलसँग…’ शृङ्खलाको ११औँ अङ्क गैँडाकोटको नारायणी किनारमा सम्पन्न भएको छ। शनिबार दिउँसो आयोजित कार्यक्रममा चार जना स्रष्टाले आफ्ना–आफ्ना गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमान्डौंपाट आएका बाबु त्रिपाठी, विराटनगरकी बबिता भुजेल र देवघाटका एसआर दुवाडीले एकै मञ्चमा बसेर गजल वाचन तथा गायन शैलीमा प्रस्तुत गरे। उनीहरूले तीन चरणमा गरी छ–छटा गजल सुनाए, जसलाई दर्शकले निकै मन पराए।

गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासका अनुसार विविध भौगोलिक क्षेत्रका सर्जकलाई एउटै मञ्चमा ल्याइँदा गजल लेखनको दायरा थप फराकिलो बन्दै गएको छ। उपाध्यक्ष कमल अर्यालले यस्ता कार्यक्रमले नयाँ सर्जकको आत्मविश्वास र सिर्जना क्षमतामा वृद्धि भएको बताए। सचिव प्रमिला सानुले संस्थाले करिब दुई दशकदेखि नयाँ प्रतिभा पहिचान र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको उल्लेख गरिन्।

गजल विधाको प्रबर्द्धनका लागि सक्रिय मञ्चले हरेक वर्ष फरक–फरक प्रकारका कार्यक्रम गर्दै आएको छ। यही क्रममा २०८२ जेठ १७ गते माडीस्थित सोमेश्वर गढीको फेदीमा ‘गढीमा गजल’ कार्यक्रम आयोजना गरिएको थियो।

यस्तै, चितवनका अन्य संस्थाले पनि समय–समयमा गजलमाथि केन्द्रित कार्यक्रम गर्दै आएका छन्। २०८१ पुस २७ गते कविडाँडा साहित्य समाजले आयोजना गरेको ‘कविडाँडा राष्ट्रिय गजल उत्सव–२०८१’मा डा. कृष्णहरि बराल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, बुँद राना, गोविन्दराज विनोदी, ज्ञानुवाकर पौडेललगायत प्रतिष्ठित सर्जकको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया