नवलपरासी (पूर्व) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ सभापति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र अटो ठोक्किँदा तीन जना घाइते भएका छन्।
आज अपरान्ह करिब ४ बजे दुम्किबासबाट नारायणगढतर्फ आउँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक चितवन भरतपुर–१३ का ३३ वर्षीय सरकार क्षेत्री, स्कुटरमा पछाडि सवार माडी नगरपालिका–५ की ३२ वर्षीया निता थापा बरुवाल, र अटो चालक कावासोती–१ रिठ्ठेपानीका ४८ वर्षीय तक ब. बयम्बु मगर घाइते भएका छन्।
प्रहरीका अनुसार स्कुटर चालक क्षेत्रीको दाहिने हात र खुट्टामा चोट लागेको छ भने पछाडि सवार थापा बरुवालको अनुहार, दुबै हातका औंला, बाँया घुँडा र छातीमा चोट लागेको छ। अटो चालक मगरको टाउकोमा बाहिरी चोट भने लागेको छैन।
दुर्घटनापछि दुवै पक्षबीच विवाद उत्पन्न भई स्कुटर चालकले अटो चालकको टाउकोमा हेल्मेटले प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोती लगिएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।





















उज्यालो खबर
















