×

चितवन । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टमा  दशैं शुभकामना आदानप्रदान, नियुक्तिपत्र वितरण तथा बिदाइ कार्यक्रम  सम्पन्न भएको छ। कार्यक्रम प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष नारायण भण्डारी प्रमुख अतिथि र प्रा. डा. बसन्त अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो। उप–प्राचार्य कृष्णहरि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

समारोहको सुरुवातमा वरिष्ठ सल्लाहकार स्व. रामप्रसाद चंचल, सहिदहरू तथा हालसालै दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको र स्वागत मन्तव्य बीई कार्यक्रम संयोजक भीम भण्डारीले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै दशैंलाई केवल पर्वका रूपमा मात्र नभई सत्य, धर्म र सदाचारको विजयका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। मन्तव्य दिनेहरूमा +२ म्यानेजमेन्ट विभाग प्रमुख हरि प्रसाद थपलिया, HOD (English) देवीलाल जोशी, BCA विभाग प्रमुख सुशान्त तिवारी, BHM विभाग प्रमुख केष्मा पौडेल, इन्जिनियरिङ्ग विभागतर्फ ए.एन. भण्डारी, BBA/BCA तर्फ नवराज गौतम, +२ तर्फ लक्ष्मी बराल र कर्मचारी प्रतिनिधि तिलक मल्ल हुनुहुन्थ्यो।

यस अवसरमा प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले कलेजमा नवनियुक्त प्राध्यापक तथा कर्मचारीलाई नियुक्तिपत्र प्रदान गर्नुभयो। नियुक्तिपत्र प्राप्त गर्नेमा BHM विभाग प्रमुख केष्मा पौडेल, ECA प्रमुख बिकाश श्रेष्ठ, HM ल्याब इन्चार्ज चन्द्रबहादुर न्यौपाने र केमिस्ट्री ल्याब असिस्टेन्ट हिरादेवी खतिवडा रहनुभयो।

कार्यक्रमको विशेष खण्डमा BBA विभागका सहायक विभागीय प्रमुख आकाश घिमिरेलाई उच्च अध्ययनका लागि अष्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको अवसरमा बिदाइ गरिएको थियो। प्राचार्य भण्डारीले उहाँलाई फूलमाला र खादा अर्पण गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिनुभयो। सहकर्मी तथा विभाग प्रमुखहरूले घिमिरेको योगदान र समर्पणको प्रशंसा गर्दै भावनात्मक मन्तव्य राख्नुभयो।

उप–प्राचार्य कृष्णहरि पौडेलले धार्मिक नीति–कथा प्रस्तुत गर्दै दशैंलाई सत्य, धर्म, धैर्य र आत्मसंयमको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले आत्म–सुधार र समाजसेवाको महत्वमाथि प्रकाश पार्दै कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउनुभएको थियो।

समापन मन्तव्यमा प्राचार्य भण्डारीले सबैलाई दशैंको शुभकामना व्यक्त गर्दै शिक्षक, विद्यार्थी र कर्मचारीलाई सत्य, सदाचार र आत्मीयताको बाटोमा अघि बढ्न प्रेरित गर्नुभयो। उहाँले भन्नुभयो, “सत्यको सधैं विजय हुन्छ, त्यसैले हामी सबैले सत्यबाट कहिल्यै टाढा हुन हुँदैन। शिक्षकहरूको काम पढाउनु मात्र होइन, निरन्तर अध्ययनशील रहनु पनि हो, र विद्यार्थीलाई बुझाउन सक्ने क्षमता नै शिक्षकको वास्तविक सफलता हो।”

आयोजकका अनुसार, कार्यक्रममा सहभागीहरूले देखाएको एकता र सहकार्यले कलेजभित्र आपसी सद्भाव, शैक्षिक प्रतिबद्धता र सहकार्यलाई अझ मजबुत पारेको छ।

तपाईको प्रतिक्रिया