गैँडाकोट –नवलपुरको गैँडाकोट नगरपालिका-२ नारायणी पुल (पूर्व–पश्चिम राजमार्ग) मा आइतबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार साँझ करिब ५ः४० बजे गैँडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा रौतहट चन्द्रपुरका १८ वर्षीय मोटरसाइकल चालक मुनाल दाहाल गम्भीर घाइते भई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लैजाँदा साँझ ५ः४८ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार गैँडाकोट–४ निवासी २७ वर्षीय प्रतिक घिमिरे सामान्य घाइते भई उपचाररत छन् ।
दुर्घटनामा संलग्न ट्रक तथा चालक सिन्धुली गोलन्जोर गाउँपालिका–९ निवासी ३५ वर्षीय तुक्त बहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



उज्यालो खबर




