×

लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले “LICT Hackathon Vol. 1” आयोजना गर्न लागेको छ। यो तीन दिने कार्यक्रम भदौ १६, १७ र १८ गते क्याम्पस परिसरमा हुने भएको छ।

यस ह्याकाथनमा विद्यार्थी, डेभलपर, डिजाइनर, स्टार्टअप इनोभेटर र टेक्नोलोजीप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई स्थानीय समस्या समाधान गर्न प्रविधिमार्फत नवीनतम समाधानहरू प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। सहभागी टोलीहरूले सीमित समयमा नयाँ-नयाँ समाधान निर्माण गर्नेछन्।

प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिले ३ देखि ४ सदस्यको टोली बनाएर रु. ५०० प्रति व्यक्ति दर्ता शुल्क बुझाएर सहभागी हुन सक्नेछन्। दर्ता फाराम भर्नको लागि www.lumbiniictclub.com मा जान सकिनेछ अथवा कार्यक्रमको पोस्टरमा दिइएको QR कोड स्क्यान गरी सजिलै दर्ता गर्न सकिन्छ। दर्ता गर्ने अन्तिम मिति श्रावण ३० गते तोकिएको छ।

 ह्याकाथनमा रु. ७५,००० भन्दा बढी पुरस्कार राशि प्रदान गरिनेछ भने उत्कृष्ट टोलीहरूलाई प्रमाणपत्र र आकर्षक पुरस्कार पनि प्रदान गरिनेछ। आयोजकहरूका अनुसार चितवन, नवलपुर, तनहुँ लगायतका विभिन्न जिल्लाबाट १५ भन्दा बढी टोलीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक आयुष घिमिरे, निर्देशक नरेन्द्र आले मगर र प्रमुख आयोजक अशोक भट्टराई हुनुहुन्छ भने लुम्बिनी ICT क्लबका बिगतका विभिन्न प्राविधिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका विशाल भण्डारीले समेत यस कार्यक्रमको जानकारी गराउनुभएको छ।

यस कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई प्रविधि क्षेत्रमा सिर्जनशील सोच र नवप्रवर्तनको अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट प्रविधि विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया