गैँडाकोट — गैँडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनमा आइतबार डिजिटल प्रणालीमार्फत विद्यार्थी नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।प्रविधिमैत्री अभ्यासको रूपमा विद्यालयले पहिलोपटक डिजिटल मतदान प्रणाली अपनाउँदै स्कुल तथा हाउस प्रतिनिधिहरू चयन गरेको हो।
डिजिटल मतदानमार्फत स्कुल क्याप्टेन पदमा सम्राट अर्याल १३० मत प्राप्त गर्दै विजयी हुनुभएको छ। त्यस्तै, स्कुल भाइस क्याप्टेनमा सुशील सापकोटा १४१ मतसहित विजयी बन्नुभयो।त्यस्तै, हाउस प्रतिनिधि पदमा अन्नपूर्ण हाउस क्याप्टेनमा दिप्सन गौडेल ४५ मतसहित र भाइस क्याप्टेनमा सामना गौतम ३१ मतसहित विजयी हुनुभएको छ।
मकालु हाउसतर्फ क्याप्टेनमा करुणा भण्डारीले ३५ मत प्राप्त गर्दै जित हासिल गर्नुभयो भने भाइस क्याप्टेनमा ऋषव काफ्ले ४५ मतसहित विजयी बन्नुभयो।धौलागिरी हाउसतर्फ क्याप्टेन पदमा अनुज पौडेलले ५६ मत ल्याएर जित्नु भएको छ भने भाइस क्याप्टेनमा अग्रता चापागाईंले ४५ मत प्राप्त गर्नुभयो।
यसैगरी, सगरमाथा हाउस क्याप्टेनमा अंकित पौडेल ४४ मतसहित र भाइस क्याप्टेनमा सुलक आले ५० मतसहित विजयी हुनुभएको छ।विद्यालयका शिक्षक प्रशान्त रेग्मीका अनुसार मतदान कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले यसपटकको निर्वाचनमा विद्यार्थीलाई डिजिटल मतदानको अभ्यास गराइएको जानकारी दिनुभयो। यसअघि विद्यालयले विद्यार्थीलाई सामान्य मतदान प्रक्रिया सम्बन्धी जानकारी दिइसकेको थियो।
नेतृत्व चयनको अवसर पाउँदा विद्यार्थीहरू उत्साहित देखिएका थिए भने विजयी उम्मेदवारहरूको सम्मानमा विद्यालयले विजय र्यालीसमेत आयोजना गरेको थियो।विद्यालयले प्रविधिमैत्री अभ्यासमार्फत विद्यार्थीमा लोकतान्त्रिक चेतना र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको जनाएको छ।



उज्यालो खबर




