नवलपुर- “नयाँ विषयवस्तु, नयाँ तरिका – हाम्रो खुसी कक्षा” भन्ने मुल नाराका साथ बालबालिकाको सिकाइमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मध्यबिन्दु नगरपालिकामा अन्तर विद्यालय सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको आयोजनामा तथा हरिहर मन्दिर आधारभूत विद्यालय, आरुङ्गखोलाको संयोजनमा आयोजित कार्यक्रममा वडा नं ११ र १५ का १४ वटा विद्यालयका SHRT र CHT हरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भिमलाल अधिकारी तथा अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ पाण्डे ले गर्नुभएको थियो। कार्यक्रममा कुल ८४ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
आरुङ्गखोला क्लस्टर अन्तर्गत ५ वटा केन्द्र निर्धारण गरी दुई चरणमा कार्यक्रम सञ्चालन गरिएको हो। सिकाइ आदानप्रदान, अनुभव साझा र शिक्षण पद्धतिमा नवीनता ल्याउने विषयमा बृहत् छलफल तथा आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहभागी शिक्षकहरूले व्यक्त गरेका छन्।
नगर प्रमुख भिमलाल अधिकारीले शिक्षक नै परिवर्तनका सारथी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकमा नविन ऊर्जा भरिदिने बताउनुभयो। खुसी कार्यक्रमका संयोजक लक्ष्मी पाण्डेले शिक्षणको प्रभावकारिता बढाउन र कक्षा कोठामा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने बताउनुभयो।
संयोजक विद्यालयका अध्यक्ष तारानाथ पाण्डेले शिक्षा क्षेत्रमा सुधार ल्याउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।कार्यक्रमले सिकाइ समुदाय निर्माणमा थप बल पुर्याउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।



उज्यालो खबर




