गैंडाकोट – नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिको आयोजनामा आइतबार गैंडाकोटको विपी स्मृति भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गर्नु भएको छ।
क्षेत्रीय सभापति अमृत भट्टचनको संयोजकत्वमा ४२औं विपी स्मृति दिवस सम्पन्न गरिएको हो । स्मृति दिवसकै सन्दर्भमा गैंडाकोटमा रहेको अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरिएको थियो ।
डा. अनुप भट्टचन र सुधिर श्रेष्ठद्धारा स्वास्थ्यजाँच र परामर्श सेवासमेत प्रदान गरिएको रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रमुख अतिथि रहनुभएको थियो । उहाँले १०४ वर्षे जहानिया राणा शासनको अन्त्य र प्रजातान्त्रिक समाजवादी राज्यव्यवस्था कायम गर्न र जनताको आर्थिक स्तर मजबूत बनाउने संकल्प देख्ने विपी र उनको सिद्धान्त आफैमा अनुकरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं १ क का सभापति गोपाल सापकोटाको स्वागत मन्तव्य तथा क्षेत्रीय सचिव अमृत श्रेष्ठको सहजीकरण रहेको थियोे । कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




