×

 

गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले आधारभूत तह कक्षा ८ (बिएलई) मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

विद्यार्थी मञ्चले गैँडाकोट नगरपालिकाभर प्रथम हुन सफल विद्यार्थी संगीता दाहाल (३.९७ जिपिए) लाई रु १० हजार छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ । यसैगरी उत्कृष्ट नतिजा प्राप्त गर्ने विष्णु बगाले (नगर तृतीय हुन सफल), भूपिन घिमिरे, मोमिता थापा, समिक्षा सिग्देल, देविका गुरुङ, अनुशासित तथा जेहेन्दार विद्यार्थी निराजन पौडेललाई प्रति विद्यार्थी ३ हजार रुपैँयाको छात्रवृत्ति पुरस्कार सहित सम्मान गरेको हो ।

भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष गणेश अधिकारीले ८, ९ र १० कक्षा पढ्ने विद्यार्थीको आत्मविश्वास, हौसला र प्रेरणा बढाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि सबैभन्दा पहिला आफ्नो जग निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । जग निर्माणका लागि शिक्षा आर्जनमा संवेदनशील रहन सुझाब दिनुभयो ।

मञ्चका उपाध्यक्ष ध्रुव अधिकारीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । भूतपूर्व विद्यार्थी प्रेम सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटा, एम्स एब्रोड एजुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेल, सम्मानित विद्यार्थीका अभिभावक, पूर्व शिक्षक श्यामसुन्दर पराजुली, जलुके खानेपानीका अध्यक्ष जगन्नाथ पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष भगवान घिमिरे, सहायक प्रधानाध्यापक कृष्णराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

भूतपूर्व विद्यार्थी मञ्चले हरेक वर्ष यसैगरी मेधावी विद्यार्थीलाई सम्मान गर्नका लागि भूतपूर्व विद्यार्थी अक्षयकोषको थालनी गरेको छ ।अक्षयकोषको सुरुवातमै विद्यालयका पूर्व प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वरीनाथ रिमालले ५० हजार ७५ रुपैँया सहयोग प्रदान गर्नुभएको छ । गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले वडा कार्यालयको तर्फबाट रु २० हजार र श्रीनेराश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले ५ हजार प्रदान गर्नुभएको छ ।

विद्यालय पूर्व प्रधानाध्यापक तथा प्रमुख अतिथि ईश्वरीनाथ रिमालले समुदायमा शिक्षाको ज्योती फैलाउन अति आवश्यक भएको बेलामा विद्यालय स्थापना भएको बताउनुभयो ।

गैँडाकोट वाड नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले वडाले अन्य भौतिक पूर्वाधारको विकास भन्दा शिक्षाको विकासका लागि विद्यालयहरूका योजनालाई प्राथमिकता दिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले अग्रजहरूको योगदान, सहकर्मीहरूको कर्मशीलता, समुदायको उत्प्रेरणाका कारण विद्यालयले नगरमानै उत्कृष्ट नतिजा ल्याउन सफल भएको र आगामी दिनमा नवलपुरकै उत्कृष्ट विद्यालय निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया