नवलपुर । महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी भन्ने नारा सहित नवलपुरको गैँडाकोट नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।फागुन २५ गते परेको नारी दिवसको अवसरमा बुधबार महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख वक्ता सामाजिक अभियान्ता मिना खरेलले महिलाहरू पहिला आफुलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभएको छ । संविधानले नारीलाई नेतृत्व तहमा अधिकार प्रशस्त दिएको तर त्यसको कार्यन्वयनको पक्ष भने फितलो रहेको महिला अधिकारकर्मी खरेलले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले नेतृत्व तहमा पुग्न आफैपनि सक्षम हुनुपर्ने बताउनुभयो । आगामी दिनमा महिलालाई आर्थिक रुपमा बलियो बनाउन सीपमूलक कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले आगामी दिनमा महिलालाई प्रदान गरिने सीपमूलक तालिम पश्चात् उत्पादनमा जोडिने महिलाहरुको उत्पादन सामग्रीको बजारीकरणको व्यवस्था नगरपालिकाले गर्ने गरी छलफल थाल्ने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गैँडाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधि पालिका भित्रका महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरुले नारी बेदना तथा महिला अधिकार सँग जोडिएर विभिन्न कविता, गित तथा गजल प्रस्तुत गरेका थिए ।




उज्यालो खबर




