×

शुक्रनगर । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेका हुन् । सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।

कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ कक्षासम्मका १०९ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इन्टरलक ब्रिफ बनाउन खटिने गरेका कक्षा ९ मा अध्ययनरत दर्शन भण्डारीले बताए ।

‘साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरुपमा सिमेन्टको प्रयोग गरी बनाइले आधुनिक एवं भूकम्प प्रतिरोधी इँटा बनाउँदा नभुलिने गरी शिक्षा प्राप्त भएको छ’, दर्शनले भने, ’विद्यालयका गुरू तथा प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफैँ काम गर्छौं, इन्टरलक ब्रिफ उत्पादन गर्छौं र त्यसको बजारीकरणको तयारीमा छौँ ।’

यहाँ उत्पादन भएको विभिन्न इन्टरलक ब्रिफ बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने भएकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको कक्षा ९ मा अध्ययनरत कृष्टि पराजुली बताउँछिन् । कार्यक्रममा सहभागी भएकाले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान पनि दिएको उनले बताइन् । अध्ययन र अनुभवले नै उद्यमशिलता सिकिने उनको भनाइ छ । यो व्यावहारिक ज्ञान जीवन्त हुने हुँदा हामीलाई प्रत्यक्ष फाइदा पुगेको छ । किताबी ज्ञान रट्नुभन्दा व्यावहारिक ज्ञानमा खटिँदा धेरै र सजिलै सिकिने रहेछ’, उनले भनिन् ।

उत्पादित इन्टरलक ब्रिफ बजारसम्म पु¥याउन विद्यालयले स्थानीय व्यापारीसँग समन्वय गर्ने प्रभात माविका इन्जिनियरिङ विभाग प्रमुख शशि बगाले बताउँछन् ।

‘सिमेन्टबाट निर्मित इँटाको प्रयोगले घरको लागतसमेत कम हुने भएकाले बजारमा यसको माग बढिरहेको छ’, उनले भने, ‘अहिले प्रतिइँटा बजारमा रू. ५० का दरले बिक्री भइरहेको पाएको छु ।’ जलवायुमैत्री, घर बनाउँदा प्लास्टर गर्न नपर्ने र पोलेको इँटाभन्दा बलियो भएकाले पछिल्लो समय यसको माग बढिरहेको उनले बताए ।

विशेषगरी, बलियो घर तथा भवनहरु बनाउनका लागि आवश्यक पर्ने इन्टरलक इँटा यहाँको स्थानीय माटो, बालुवा र सिमेन्ट मिसाएर धमाधम उत्पादन भइरहेको विद्यालयका ल्याब टेक्निसियन सुरज दवाडी बताउँछन् । उनका अनुसार इन्टरलक इँटा रातो इँटाभन्दा १ दशमलब ५ प्रतिशत बढी बलियो हुन्छ । इन्टरलक इँटा भूकम्प प्रतिरोधीका साथै वातावरणमैत्री हुने भएकाले पनि मह¤वपूर्ण हुने उनले बताए ।

उक्त कार्यक्रमका लागि संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई १० लाख उपलब्ध गराएको र सोही रकमबाट ब्लक इँटा बनाउने मेसिन खरिद गरेर विद्यार्थीहरुलाई उत्पादनसँग जोडेको प्रधानाध्यापक होमनाथ भण्डारीले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आयआर्जन पनि गर्ने योजनाका साथ यो कार्यक्रम लागू गरिएको उनले बताए ।

शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने बताउँदै उनले भने, ‘हामी शिक्षालाई व्यावहारिक बनाउन चाहन्छौँ । पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।’

विद्यार्थीको सामूहिक सक्रियतामा सञ्चालनमा रहेको यो कार्यक्रम उदाहरणीय बन्न सक्ने विश्वास रहेको बताउँदै उनले भने, ‘विद्यार्थी उत्साहित भएर काम गरेका छन्, यसको मूल्य निर्धारण र बजारीकरणका लागि भरतपुर महानगरको सहयोग मागेको छु ।’

उत्पादित सामानको मूल्य निर्धारणपछि र बिक्री भई आएको मूल्य ती विद्यार्थीको कोषमा जम्मा गरिन्छ । ’इन्टरलक ब्रिफ बिक्रीबाट आएको रकमलाई आम्दानी बाँधेर विद्यार्थीको कोषमा जम्मा गरिदिन्छौँ’, प्रधानाध्यापक भण्डारीले भने, ’कोषमा जम्मा भएको रकम विद्यार्थीको हाजिरीका आधारमा भुक्तानी गर्ने सोच बनाएका छौँ ।’

विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उनले बताए । उनका अनुसार कक्षा ९ मा २७ जना, कक्षा १० मा ३७ जना, कक्षा ११ मा १८ जना र कक्षा १२ मा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरु कक्षा १२ उत्तीर्ण गर्दैगर्दा सब–इन्जिनियर हुन्छन् ।

तपाईको प्रतिक्रिया