×

रत्ननगर ।  रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयको प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा १००० थान मार्केटिङ्ग झोला वितरण गरेको छ ।

विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सहयोगी संस्था अनकोन नेपालका तर्फबाट बासुराज विष्ट तथा आमा फाउण्डेसनका तर्फबाट नविन जोशी समेतको उपस्थिति थियो ।

वडा सदस्य विन्दु मग्रान्ती, सञ्चालक सदस्य रामजित चौधरी, सविता बोहरा तथा दिलिपराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका का।वा अध्यक्ष नारायण प्रसाद अमगाई, शिक्षक अभिभावक संघका सदस्यहरु क्रमसः सञ्जय घिमिरे, गोपाल सापकोटा, राजु सिलवाल, छिमेकी भानु टोल, शिवनगर, निपनी टोल, रत्ननगर टोलका अध्यक्ष तथा प्रतिनिधिहरु सहित शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहकाे थियाे ।

कार्यक्रममा प्रथम त्रैमाशिक परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने कक्षा नर्सरी देखि कक्षा १० सम्म विद्यार्थीहरुलाई टीका, अविर लगाइ पुरस्कार वितरण गर्नुका साथै वडा अध्यक्ष सापकोटाले लाइसियम स्कुल र वडा कार्यालय विचको सहकार्य विगत देखिनै उत्कृष्ट रहेको र सामाजिक उत्तरदायित्व अन्तरगत प्लाष्टीकको प्रयोगलाई न्यूनीकरण गर्न बजार झोला वितरण गर्ने कार्यक्रमले झनै बलियो बनाएको विचार व्यक्त गर्नु हुँदै आज प्राप्त भएको झोलालाई सदुपयोग गरी बजार जाँदा प्रयोग गरेर प्लाष्टीकको प्रयोग कम गर्न सम्पूर्ण रत्ननगरवासीलाई आह्वान समेत गर्नु भएको थियोे ।

मन्तव्यको क्रममा अनकोन नेपालका प्रतिनिधि वासुराज विष्टले अनकोन नेपाल र आमा फाउण्डेसनले देशमा विभिन्न भागमा रचनात्मक र मानव सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेको र निरन्तर गरी रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रम समापनका अवसरमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले परीक्षामा कति अंक प्राप्त गरेँ, प्रथम भएँ वा भईन भन्ने भन्दा पनि मैले यो शैक्षिक वर्षको तीन महिनामा के सिकेँ, घर परिवार र समाजका लागि के गरेँ भन्ने महत्वपूर्ण कुरा हो भन्नु हुँदै अव सवै मिलेर प्लाष्टीकको प्रयोग कम गरेर, प्रयोग भएको प्लाष्टीकको उचित व्यवस्थापन गरेर वातावरण प्रदुषण न्यूनीकरण गर्ने अभियानमा लाग्नका लागि सवैलाई आह्वान गर्नुका साथै झोला तयार गर्न सहयोग गर्नु हुने अनकोन नेपाल र आमा फाउण्डेसन प्रति आभार व्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्य राख्नु हुंदै प्लाष्टीकको प्रयोग र यस्को उचित व्यवस्थापन हुन नसकेका कारण वातावरणमा पर्न गएको नकारात्मक असर र अव गर्नु पर्ने कार्यका वारेमा प्रकाश पार्नु भएको थियो भने भानु टोल विकास संस्थाका अध्यक्ष वसन्ता भट्टराईले नतिजा प्रकाशनका अवसरमा बजार झोला वितरण गरेर समाजमा जिम्मेवार संस्थाको भूमिका निर्वाह गरेकोमा लाइसियम स्कुल परिवार प्रति आभार प्रकट गर्नु भएको थियो ।

रत्ननगर नगरपालिका वडा नम्वर १ को कार्यालय, छिमेकी टोल विकास संस्थाहरुलाई पचास पचास थान झोला र शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई एक एक थान झोला वितरण गरीएको उक्त कार्यक्रम विद्यालयका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया