गैंडाकोट । खराल वंशोद्धार प्रतिष्ठान नेपाल, गैंडाकोट १४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय परिसरमा आयोजित एक समारोहका बीच ‘निर्माणाधिन ज्येष्ठ नागरिक भवन स्थलको कम्पाउण्ड वाल निर्माण’ आयोजना सम्बन्धि सुनुवाई गरिएको हो ।
गैंडाकोट नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कोकिसरा रानामगरको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका महासचिव एवं आयोजनाको निर्माण समितिका अध्यक्ष ओमप्रसाद खरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका महासचिव तथा सो आयोजनाको निर्माण समितिका अध्यक्ष खरालले कुल ११ लाख ६ हजार ६ सय ६४ रुपैयाँको लागतमा यस आयोजना निर्माण सम्पन्न भएको बताउँदै गण्डकी प्रदेश सरकारको ९ लाख ६१ हजार घ सय ८८ रुपैयाँ लागत सहभागिता रहने सम्झौंता भएको र बाँकी रकम उपभोक्ता समितिबाट हुने बारेमा सहभागिलाई जानकारी गराउनुभएको थियो । उहाँले कार्यक्रममा सहभागिहरुलाई विभिन्न शिर्षकमा भएको छुट्टा–छुट्टै खर्च बारेमा लिखित विवरणसमेत पेश गर्नुभएको थियो ।
गत वर्षको फागुनमा सुरु भएको आयोजना सबै पक्षको सहयोगका कारणले समयमै सम्पन्न भएको सो आयोजनाको उपभोक्ता समितिका सचिव सरोज खरालले जानकारी दिनुभएको थियो । उहाँले ज्येष्ठ नागरिकको हकहितका निम्ति यस आयोजना जगका रुपमा रहेको धारणा राख्दै ज्येष्ठ नागरिक भवन निर्माण गर्न सहयोग पुर्याउन सबै सरोकारवाला निकायलाई आहव्वान समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गुणाकर खरेलले, विक्रम सम्बत ०५९ सालमा स्थापना भएको संस्थाले यस स्थानमा बृद्धाश्रम निर्माण गरि ज्येष्ठ नागरिकलाई लाभान्वित गर्ने योजनाबारे सहभागिलाई प्रस्ट्याउदै भावी योजना र इतिहास बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा निर्माण समितिका सदस्य मोतिलाल खरालले धन्यवाद दिदै नेपाल सरकारका विभिन्न निकाय र स्थानीय तहबाटसमेत प्रतिष्ठानका आयोजनालाई अघि बढाउन विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको प्रति आभार व्यक्त गर्दै सार्वजनिक हितका निम्ति निर्माण गर्न लागिएको आयोजनालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट वडा नं. १४ का वडा अध्यक्ष कोकिसरा रानामगरले प्रतिष्ठानले सिंगो समुदायको हितका निम्ति कार्य अघि बढाएको बताउदैं वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभयो । उहाँले वडा कार्यालयसँग थोरै बजेटको सिलिङ्ग हुने हुँदा वडाको बजेटबाट पर्याप्त सहयोग गर्न कठिन रहे पनि अन्य निकायका लागि आवश्यक सिफारिस र अन्य उपायबारे भर मजदुर प्रयन्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्रममा वडाका जनप्रतिनिधिले निर्माण सम्पन्न भएको आयोजनाको अवलोकन गर्दै प्रतिष्ठानलाई आभार प्रकट गर्नुभएको थियो ।



उज्यालो खबर




