×

गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको गैँडाकोट नमुना माध्यमिक विद्यालयका विद्यार्थी ओसारपसार गर्ने लोकल भ्यानले सुरक्षा मापदण्ड र ट्राफिक नियमको धज्जी उडाउँदै सञ्चालन भइरहेको पाइएको छ। नियम-कानुनको बेवास्ता गर्दै गुड्ने उक्त भ्यानका कारण दैनिकजसो ठूलो दुर्घटनाको जोखिम बढेको हो।

जिल्ला बाल क्लब नवलपुरको आयोजना तथा सम्बन्धित निकायको समन्वयमा सोमबार गरिएको आकस्मिक अनुगमनका क्रममा भ्यानभित्र यस्तो लापरबाही फेला परेको हो। अनुगमनमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा लोकल रुटमा चल्ने उक्त भ्यानमा क्षमताभन्दा बढी विद्यार्थी खाँदाखाँद गरेर राखिएको भेटिएको अनुगमन टोलीले जनाएको छ। जिल्ला बाल क्लब नवलपुरका अध्यक्ष शिशिर आचार्यका अनुसार भ्यानको आन्तरिक संरचना नै मनपरी ढङ्गले परिमार्जन (मोडिफाइ) गरी उल्टो सिट राखिएको पाइएको छ। साँघुरो गाडीमा उल्टो सिट र अत्यधिक भारका कारण जुनसुकै बेला ठूलो दुर्घटना निम्तिने खतरा देखिएको आचार्यले बताए।

यसै विषयमा विद्यालयका सहायक प्राचार्य चन्द्र केसीले उक्त भ्यान लोकल रुटमा चल्ने भएकाले नजिकैका विद्यार्थीहरू चढेको स्पष्ट पार्दै कमजोरी स्वीकार गर्नुभएको छ। उहाँले आगामी दिनमा यस्ता त्रुटिहरूलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सवारी नियम उल्लङ्घन गर्ने र मनपरी सिट मोडिफाइ गरेर जोखिम बढाउने हर्कत तत्काल पूर्ण रूपमा बन्द हुनुपर्ने अनुगमन टोली तथा स्थानीय अभिभावकहरूले माग गरेका छन्।

तपाईको प्रतिक्रिया