×

गैंडाकोट-  लायन्स क्लब अफ बागेश्वरी डायनामिक (क्लस्टर ६, डिष्ट्रिक्ट ३२५ आर, नेपाल) को आधिकारिक पदस्थापन तथा विभिन्न सामाजिक कार्यक्रमहरू गैंडाकोटमा  सम्पन्न भएका छन्।

गैंडाकोट-२ स्थित होटल मानसरोवर एण्ड पार्टी प्यालेसमा आयोजित विशेष समारोहका बीच क्लबको लायन्स वर्ष २०२६/०२७ का लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको पदस्थापन गरिएको हो। कार्यक्रम लायन्स वर्ष २०२६/०२७ का अध्यक्ष तुलसी प्रसाद उपाध्यायको अध्यक्षता तथा डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गवर्नर पीएमJF लायन प्रभाकर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमका अवसरमा गैंडाकोट आधार अस्पताल परिसरमा प्राकृतिक सौन्दर्य र वृक्षरोपणसहित निर्माण गरिएको “लायन्स बाटिका” को औपचारिक उद्घाटन गरियो। यसका साथै, क्लबको विस्तार र संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै एक्सटेन्सन चियरपर्सन नवराज कंडेल र संस्थापक अध्यक्ष कमल तिवारीलाई विशेष सम्मान प्रदान गरियो।

समारोहमा सामाजिक उत्तरदायित्वअन्तर्गत अध्यक्ष तुलसी प्रसाद उपाध्यायका सुपुत्र आद्भिक तिमिल्सिनाको जन्मदिनको अवसर पारेर गैंडाकोट नगरपालिकाभित्रका ७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

उद्योग वाणिज्य संघका अध्यक्ष छविलाल कंडेल, गैंडाकोट नगरपालिकाका शिक्षा अधिकारी तथा डिष्ट्रिक्टका विभिन्न पदाधिकारीहरूको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन द्वितीय उपाध्यक्ष लायन्स गोबिन्द चालिसेले गर्नुभएको थियो भने संयोजन लायन्स हिमालदेव पंगेनी र लायन्स कृष्ण खरेलले गर्नुभएको थियो।

समाजसेवा र सुशासनको भावनासहित अगाडि बढेको क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा जनहितका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया