×

गैँडाकोट- कहिलेकाहीँ जीवनमा अचानक लिइएको एउटा सानो निर्णयले मानिसको सिङ्गो भविष्य मात्रै बदल्दैन, सिङ्गो परिवारको आर्थिक भाग्य नै नयाँ मोडमा पुर्‍याइदिन्छ। नवलपुरको गैँडाकोट–१ का भिमलाल अधिकारी (क्षेत्री) को जीवन कथा ठ्याक्कै यस्तै छ।

तीन दशकअघि एउटा सानो पोलिसीबाट बीमा क्षेत्रमा प्रवेश गर्नुभएका अधिकारी आज नेपाली बीमा बजारका एक स्थापित, सम्मानित र भरपर्दो ‘हस्ती’ मानिनुहुन्छ। उहाँको यो ३० वर्षे व्यावसायिक यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, पेसागत इमानदारिता र निरन्तरको मिहिनेतले कस्तो उचाइ दिन्छ भन्ने ज्वलन्त उदाहरण पनि हो।

त्यो एउटा पोलिसी, जसले जीवनको दिशा बदल्यो

कथा २०५२ सालको हो। पर्वतको लंखु देउराली (हाल महाशिला–५) मा बसोबास गर्दा भिमलाललाई बीमा के हो भन्ने खासै ज्ञान थिएन। त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर चिरञ्जीवी शर्मा (गुल्मी) ले अधिकारीको एउटा जीवन बीमा गराइदिनुभयो।

त्यही बीमा नै उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। त्यसपछि उहाँमा बीमाबारे जान्ने उत्कट इच्छा जाग्यो। पत्रपत्रिका र समाचारहरू नियाल्दै जाँदा उहाँले बुझ्नुभयो— बीमा केवल व्यक्तिगत सुरक्षा मात्र होइन, यसले त समाजलाई नै आर्थिक रूपमा सबल बनाउँछ। अझ बीमा गराएपछि अभिकर्ताले लामो समयसम्म पाउने सम्मानित आम्दानीले उहाँलाई यस पेसातर्फ लोभ्यायो।

अध्यक्षले दुई दिनमै दिएका थिए लाइसेन्स

२०५४ सालमा उहाँ तालिमका लागि काठमाडौँ हानिनुभयो। राष्ट्रिय बीमा संस्थानबाट तालिम लिनुभएका अधिकारीभित्र बीमाप्रति बेग्लै जोस र जिज्ञासा थियो।

तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) का अध्यक्ष स्वर्गीय लवप्रसाद शर्माले उहाँको त्यो तिर्खा र जोस देखेर अचम्म मान्नुभयो। अधिकारीको लगनशीलताबाट प्रभावित भएर अध्यक्ष शर्माले नेसनल लाइफ (लाजिम्पाट) र राष्ट्रिय बीमा संस्थानको अभिकर्ता इजाजतपत्र मात्र दुई दिनभित्रै उपलब्ध गराइदिनुभयो। २०५५ सालदेखि दुर्गा प्रसाद शर्माको पहिलो बीमा गराएर उहाँले औपचारिक रूपमा क्षेत्रमा खटिएर काम सुरु गर्नुभयो।

नेपाल लाइफको सुरुआत र ५० लाखको ऐतिहासिक पोलिसी

२०५८ साल वैशाख २१ गते नेपालको बीमा बजारमा नयाँ इतिहास रच्दै ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी’ को स्थापना भयो। पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष कमलराज गौतमको प्रेरणामा अधिकारी पनि नेपाल लाइफसँग जोडिनुभयो। वैशाख २७ गते कमलादीस्थित हेरिटेज प्लाजामा एकै दिन ५ जनाको बीमा गराएर उहाँले नयाँ अध्यायको श्रीगणेश गर्नुभयो।

त्यतिबेला १, २ या ३ लाख रुपैयाँको बीमा गर्नुलाई पनि ठूलो मानिन्थ्यो। तर अधिकारीको सोच ठूलो थियो। करिब २२ वर्षअघि उहाँले धनेश्वरी कटन मिल (रत्ननगर, चितवन) का सञ्चालक शिवराज शर्माको रु. ५० लाख बराबरको ऐतिहासिक बीमा पोलिसी गराउनुभयो। तत्कालीन समयमा ५० लाखको बीमा गराउनु ठूलो उपलब्धि मानिन्थ्यो— जसका लागि नेपाल लाइफ काठमाडौँ शाखा प्रमुख कमलराज गौतम स्वयं चितवन झर्नुभएको थियो। (बीमित शिवराज शर्मा हाल अमेरिकामा हुनुहुन्छ।)

काठमाडौँमा घर र बलियो बैंक मौज्दात, छोरीहरू अस्ट्रेलिया-जर्मनीमा PhD

तीन दशकको यो यात्रामा भिमलाल अधिकारीले ४,००० भन्दा बढी सर्वसाधारणको बीमा गराइसक्नुभएको छ। उहाँको मार्गदर्शनमा १८२ जना अभिकर्ताहरूको टोली (डाउनलाइन) तयार भयो, जसमध्ये २०–२२ जना आज पनि सक्रिय रूपमा बीमा क्षेत्रमा कार्यरत छन्।

आज अधिकारीलाई ग्राहक खोज्न बजारमा दौडधुप गरिरहनुपर्दैन। उहाँको इमानदारिता र साखका कारण मानिसहरूले उहाँलाई घरमै बोलाएर वार्षिक १० लाख रुपैयाँ प्रिमियम बराबरको बीमा गराउँछन्। पुराना पोलिसीको कमिसन, नयाँ व्यवसाय र इन्सेन्टीभ गरी उहाँको बैंक खातामा हरेक महिना २ लाख रुपैयाँभन्दा बढी आम्दानी जम्मा हुन्छ।

बीमा पेसाकै बलियो कमाइ र बचतबाट अधिकारीले काठमाडौँमा घर जोडिछाड्नुभएको छ भने भविष्यका लागि आवश्यक पर्याप्त बैंक मौज्दात समेत बनाउन सफल हुनुभएको छ। यति मात्र होइन, यही पेसाको प्रतिफलले उहाँले आफ्ना दुई छोरीहरूलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया र जर्मनी पुर्‍याउनुभएको छ, जहाँ उनीहरू विद्यावारिधि (PhD) गरिरहेका छन्। एउटा सामान्य पृष्ठभूमिबाट आएर बीमा क्षेत्रकै भरमा परिवारलाई यो उचाइसम्म पुर्‍याउनु उहाँको मिहिनेतको सबैभन्दा ठूलो सफलता हो।

भ्रमको व्यापारविरुद्ध ‘सत्यको बीमा’

आजका धेरैजसो नयाँ अभिकर्ताहरू “१० वा १५ वर्षमा पैसा दोब्बर हुन्छ” भन्दै बीमितलाई भ्रममा पारेर पोलिसी बेचिरहेका भेटिन्छन्। तर, पुराना र अनुभवी हस्ती अधिकारीलाई यो परिपाटीले मन पोल्छ।

उहाँ स्पष्ट भन्नुहुन्छ- “बीमामा ढाँटेर काम गर्नुहुँदैन। सावधिक जीवन बीमामा कर कट्टी गरेपछि करिब १७ वर्षमा मात्र रकम दोब्बर हुने हो। त्यो पनि बैंकको ब्याजदर र बोनस दरमा निर्भर हुन्छ, किनकि कम्पनीहरूले ७०% रकम मुद्दती खातामा राखेर खर्च चलाउँछन्।”

अधिकारीको विचारमा बीमा भनेको ‘रातारात धनी हुने योजना’ होइन; यो त बचत, सुरक्षा, आर्थिक भविष्य र बुढेसकालको बलियो सहारा हो।

बीमा गर्न चाहनेहरूलाई हस्तीका ३ सुनौला सुझाव:

१. अरूको देखासिखीमा भन्दा पनि आफ्नो वास्तविक आम्दानी र आर्थिक क्षमताअनुसारको पोलिसी छनोट गर्नुहोस्।

२.  आफ्नो वित्तीय भविष्य सुम्पिनुअघि अभिकर्ता कत्तिको अनुभवी र पारदर्शी छ भन्ने कुरा पक्का गर्नुहोस्।

३. असम्भव दोब्बर वा तेब्बरको प्रलोभनमा नपरी बीमालाई शुद्ध सुरक्षा र दीर्घकालीन बचतको रूपमा अपनाउनुहोस्।

तपाईको प्रतिक्रिया