×

नवलपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्डको निर्माणाधीन सडकका कारण स्थानीयवासी र व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

व्यवसायी नेता अमृत भट्टचनको अगुवाइमा जिल्ला नगर उद्योग वाणिज्य संघको टोलीले आज नवलपरासी सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख (प्रहरी उपरीक्षक) लाई भेट गरी औपचारिक ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्र बुझाउँदै टोलीले निर्माणाधीन सडक खण्डका कारण दैनिक आवागमनमा परेको कठिनाइ, वातावरणीय प्रभाव तथा स्थानीय नागरिकले भोग्नुपरेका विविध समस्याबारे गम्भीर ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा निर्माणाधीन सडक खण्डमा यात्रा जोखिमपूर्ण बनेकाले सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्दै यातायात सहज बनाइनुपर्ने, ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले आपसमा प्रभावकारी समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने तथा सडक निर्माणका क्रममा देखिएका प्राविधिक समस्याहरूको वैज्ञानिक एवं व्यावहारिक समाधान तत्काल खोजिनुपर्ने माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको सो ज्ञापनपत्रमा स्थानीयका जायज माग र सरोकारलाई अविलम्ब सम्बोधन गरी सडक स्तरोन्नतिको काम छिटो-छरितो र गुणस्तरीय बनाउन जोड दिइएको छ।

तपाईको प्रतिक्रिया