गैँडाकोट – हरितालिका तीज २०८३ को पावन अवसरलाई लक्षित गर्दै नयाँ भावपूर्ण तीज गीत “परदेशी सन्तान” सार्वजनिक गरिएको छ। चाडपर्वका बेला वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरदेशभन्दा टाढा रहेका सन्तान र उनीहरूको पर्खाइमा रहेका आमाबुबाको वेदना, माया र सास्तीलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ।
तीजको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खुशी साट्ने चाहना भए पनि लाखौँ नेपाली घरपरिवारका छोराछोरी विदेशमा हुनुपर्ने बाध्यताको यथार्थलाई गीतमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
यस गीतमा गायक चेतराज कण्डेल र गायिका शारदा सापकोटाको सुमधुर स्वर रहेको छ भने शब्द-रचना विष्णु कुमारी कण्डेलले गरेकी हुन्। गीतको अडियो रेकर्डिङ तथा सम्पादनको जिम्मेवारी स्वयं गायक चेतराज कण्डेलले सम्हालेका छन्।
भिडियोतर्फ किशोर तिवारीको निर्देशनमा तयार भएको यस गीतको छायाङ्कन सुशान्त कण्डेल र प्रदीप सापकोटाले गरेका हुन् भने सम्पादन सुशान्त कण्डेलले नै गरेका छन्।
भिडियोमा सुकृति कण्डेलको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको रूपमा सम्भव कण्डेल प्रस्तुतिएका छन्। त्यसैगरी, तुलसी कण्डेल, राधिका पाठक, शान्ति सापकोटा र शोभा आचार्यको नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ।
गीत निर्माण पक्षले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हरितालिका तीज २०८३ को शुभकामना व्यक्त गर्दै यस गीतले हरेक परदेशी र उनीहरूका अभिभावकको भावनालाई स्पर्श गर्ने विश्वास लिएको छ।



उज्यालो खबर

