गैंडाकोट- नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा गैंडाकोटस्थित रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष पनि ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ आयोजना गर्ने भएको छ। स्थानीय तथा जिल्लाभरिका नयाँ र पुराना प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ आगामी भाद्र २० गते शनिबार सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
तिज पर्व गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुसी अभिव्यक्त गर्ने सशक्त माध्यम भएकाले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तिजले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतना प्रवर्द्धन गर्ने बताउँदै यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन ठूलो सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
त्यस्तै, स्टेसन म्यानेजर सुजन अधिकारीले नवप्रवेशी र अनुभवी दुवै कलाकारलाई जोड्न कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै सांस्कृतिक पहिचान झल्किने भेषभूषा, गायन शैली र प्रस्तुतिका आधारमा उत्कृष्ट प्रतिभाको चयन गरिने बताउनुभयो।
आकर्षक पुरस्कार तथा विशेष सुविधा
प्रतियोगितामा उत्कृष्ट हुनेहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेलाई रु. १५,०००, द्वितीय हुनेलाई रु. ७,०००, तृतीय हुनेलाई रु. ५,००० र सान्त्वना स्थान हासिल गर्नेलाई रु. ३,००० प्रदान गरिनेछ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सहभागी हुने सम्पूर्ण महिला समूहहरूका लागि मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी (आउने-जाने) निःशुल्क टिकट प्रदान गरिने भएको छ। यसका साथै, कार्यक्रमका दौरान सञ्चालन हुने विभिन्न प्रश्नोत्तर प्रतियोगितामार्फत सहभागीहरूले थप आकर्षक उपहारहरू समेत जित्न सक्नेछन्।
निर्णायक मण्डलले गीतको मौलिकता, भेषभूषा, शब्दको सन्देश, लय र मञ्च प्रस्तुतिलाई मुख्य आधार बनाएर विजेता छनोट गर्नेछ। तिजको सांस्कृतिक महत्त्वलाई जोगाउँदै स्थानीय प्रतिभालाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएकाले मौलिक वा सन्देशमूलक गीत लिएर यथाशीघ्र रेडियो संकेतको कार्यालयमा सम्पर्क गर्न कार्यक्रम संयोजक भूमिलाल पौडेलले सम्पूर्ण कलाकार तथा महिला समूहहरूलाई आह्वान गर्नुभएको छ।



उज्यालो खबर

