×

काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश सरकार गठन र संसदीय दलको नेतृत्वलाई लिएर पार्टीभित्र तीव्र विवाद र तनाव उत्पन्न भएको छ। सोमबार मध्यरात अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आयोजित छलफलका क्रममा चर्काचर्की परेपछि संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) ढलेका छन्।

प्रदेश सरकार गठनका विषयमा छलफल गर्न अध्यक्ष ओलीले बागमती प्रदेशका सांसदहरूलाई साँझ ७ बजे गुण्डु बोलाएका थिए। छलफलका क्रममा सांसदहरू र अध्यक्ष ओलीले थपलियामाथि सरकार गठन गर्न नसकेको, संसदीय दल प्रभावकारी रूपमा नचलाएको र जनप्रिय नभएको आरोप लगाउँदै कडा आलोचना गरेका थिए।

आफूमाथि लगातार अपमान र तिरष्कार भएको भन्दै थपलियाले प्रतिवाद गरेका थिए। बैठकमा सहभागी एक सांसदका अनुसार, तनाव चरम उत्कर्षमा पुगेपछि थपलिया बैठकबाट बाहिरिने क्रममा ढोकामै ढलेका थिए। लगत्तै उनलाई उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारपछि हाल उनी त्रिपुरेश्वरस्थित एक होटलमा आराम गरिरहेका छन्।

मुख्यमन्त्रीको होड र आन्तरिक गुटबन्दी

बागमती प्रदेशमा २५ जना एमाले सांसद रहेकामा १७ जना सांसद सोमबारको बैठकमा सहभागी थिए। एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहे पनि अध्यक्ष ओली भने भक्तपुर २ (क) बाट निर्वाचित सांसद किरण थापामगरलाई मुख्यमन्त्री बनाउने रणनीतिमा रहेको दाबी गरिएको छ।

थापालाई मुख्यमन्त्री बनाउन राप्रपासँगको छलफल र वातावरण बनाउने जिम्मेवारी सचिव महेश बस्नेतलाई दिइएको समाचार स्रोतको दाबी छ।

यसैबीच, अध्यक्ष ओलीले मंगलबार दिउँसोसम्म जसले बहुमत पुर्‍याएर ल्याउँछ, उसैलाई मुख्यमन्त्री बनाइने निर्देशन दिएका छन्। थापाको पक्षमा बहुमत जुटाउन र हस्ताक्षर संकलन गर्न सांसदहरू भक्तपुरको एक होटलमा भेला भएको बताइएको छ। गुण्डुमा घटेको घटनाबारे भने सांसदहरूलाई सार्वजनिक रूपमा नबोल्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया