गैँडाकोट – सडकमा इ-रिक्सा कुदाइरहँदा जब-जब उनका आँखा साना बालबालिकामाथि पर्छन्, गैँडाकोट-१ का दिनेश गिरीको हात आफैँ खल्तीतर्फ पुग्छ। खल्तीबाट चकलेट र केही रुपैयाँ निकालेर ती अबोध बालबालिकाको हातमा थमाइदिँदा उनको आँखाको सानो डिलबाट एक थोपा आँसु खस्छ।
ती साना बाबुनानीहरूमा दिनेशले अर्कै कसैको अनुहार खोजिरहेका हुन्छन्- आफ्नै कलेजाको टुक्रा, आफ्नो छोराको अनुहार।
“आफ्नो छोरालाई देख्न र भेट्न पाएको छैन,” भक्कानिँदै दिनेश भन्छन्, “सडकमा अरूका साना बाबुनानी देख्दा आफ्नै छोराको सम्झना आउँछ। तिनैलाई चकलेट र केही पैसा दिँदा मन अलिकति हलुका हुन्छ, लाग्यो कि छोरालाई नै दिइरहेको छु।”
दिनेशको जीवन सधैँ यस्तो थिएन। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा प्राविधिक काम गरेर फर्केपछि उनी आफ्नै देशमा केही गर्ने सोचका साथ भैरहवामा फार्म हाउस सञ्चालन गरिरहेका थिए। २०६८ साल असोज २५ गते गुल्मीको तम्घासमा लगनगाँठो जोडेका उनको जीवनमा २०६९ भदौ २४ गते पहिलो सन्तानका रूपमा छोराको जन्म भयो। खुसीको सीमा थिएन।
तर, खुसी धेरै टिकेन। २०६९ साल पौष २७ गते छोराको भात खुवाउने (पास्नी) शुभकार्यका लागि भैरहवाबाट गैँडाकोट फर्कँदै गर्दा भैरहवाको बर्मेली टोलमा दिनेश चढेको मोटरसाइकल भयानक दुर्घटनामा पर्यो।
त्यस दुर्घटनाले उनलाई अस्पतालको शय्यामा पुर्यायो। लामो समयसम्म उनी होसमै आएनन्। मृत्युसँगको लामो सङ्घर्षपछि उनी जीवनको मोडमा फर्कन त सफल भए, तर पहिलेको जस्तो ऊर्जावान् दिनेश फर्किएनन्। दुर्घटनाले उनको शरीर कमजोर बनायो, हातहरू काप्ने भए।
शारीरिक रूपमा अशक्त बनेका दिनेशमाथि २०७२ मंसिर २२ गते अर्को बज्रपात पर्यो। अलि-अलि सम्हालिँदै गर्दा उनलाई आफ्नै श्रीमतीले उही काखे छोरा बोकेर छाडेर गइन्। एकातिर शारीरिक अशक्तता, अर्कातिर जीवनसङ्गी र कलेजाको टुक्राको विछोड- दिनेशको दुनियाँ रातारात अँध्यारो भयो।
विगत १० वर्षदेखि दिनेश गैँडाकोटका सडकहरूमा इ-रिक्सा चलाइरहेका छन्। काप्ने हात र कमजोर शरीरका बाबजुद बिहानदेखि साँझसम्म पसिना नबगाए उनको चुलो बल्दैन। दैनिक इ-रिक्सा नचलाए एक छाक खान पनि धौ-धौ पर्छ। आफ्नै भान्छा बाल्ने सामर्थ्य नहुँदा बाहिरै होटलमा एक छाक भात र एकपटक खाजा खाएर उनी आफ्नो जीवन धानिरहेका छन्।
उनी चलाउने इ-रिक्सा पनि अब निकै पुरानो भइसकेको छ। कतिबेला बीच बाटोमै रोकिन्छ, पत्तो हुँदैन। “कसैले सहयोग गरेर यो पुरानो रिक्सा हटाएर नयाँ किनिदिए अलि सजिलो हुन्थ्यो कि भन्ने आशा छ,” दिनेश आफ्नो बाध्यता सुनाउँछन्।
नयाँ रिक्सा त केवल जीविका चलाउने माध्यम मात्र हो, दिनेशको जीवनको असली तिर्खा अर्कै छ। उनी दिनरात एउटै सपना बुनिरहन्छन्— हराएको छोरालाई पुन: स्पर्श गर्ने सपना।
“नयाँ रिक्साभन्दा ठूलो धोको त मलाई मेरो छोरा भेट्ने छ,” छातीमा हात राख्दै दिनेशले भावुक भएर भने, “एकपटक छोरालाई भेट्न पाए त मेरो आधा बिरामी त्यसै सन्चो हुन्थ्यो होला।”
विगतका चोटहरू र वर्तमानको एकाङ्की जीवनलाई इ-रिक्साको स्टेरिङसँगै घुमाइरहेका दिनेश आज पनि आशाको नजरले सडकका मोडहरूतिर हेरिरहन्छन्- सायद कुनै दिन, उनले चकलेट दिने ती साना बाबुनानीहरूको भीडबाट उनकै छोरा निस्किएर “बाबा” भन्दै अङ्कमाल गर्न आउनेछ!



उज्यालो खबर

