×

गैंडाकोट- गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार र राज्यबाट पाइने सेवासुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचयपत्र प्राप्त गर्ने नागरिकहरूको कुल संख्या ८६९ पुगेको छ।

नगरपालिकामा प्राप्त हुने निवेदनहरूलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति क्रियाशील रहेको छ। उक्त समितिले स्वीकृत कार्यविधि अनुसार परेका निवेदनहरूको गहन अध्ययन, शारीरिक तथा मानसिक अवस्थाको वर्गीकरण र चिकित्सकको सिफारिसका आधारमा मात्र परिचयपत्र प्रदान गर्ने गर्दछ।

महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सालका अनुसार अद्यावधिक तथ्याङ्क अनुसार नगरभित्र ‘क’ वर्ग (पूर्ण अपाङ्गता) का १३७ जना, ‘ख’ वर्ग (अति अशक्त) का ४२२ जना, ‘ग’ वर्ग (मध्यम अपाङ्गता) का २०९ जना र ‘घ’ वर्ग (सामान्य अपाङ्गता) का १०१ जना गरी कुल ८६९ जनाले परिचयपत्र प्राप्त गरिसकेका छन्। यसै प्रक्रियालाई निरन्तरता दिने क्रममा हालै परेका १७ वटा निवेदनहरूमध्ये कार्यविधि अनुसार मापदण्ड पुगेका ११ जनालाई नयाँ परिचयपत्र उपलब्ध गराइएको छ।

अपाङ्गताको प्रकृति र वर्गीकरण अनुसार परिचयपत्र वाहकहरूले राज्य तथा स्थानीय तहबाट फरक-फरक सेवासुविधा पाउँदै आएका छन्। ‘क’ र ‘ख’ वर्गका नागरिकहरूले सरकारबाट नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ‘ग’ वर्गका नागरिकहरूका लागि नगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा र विभिन्न अनुदान कार्यक्रमहरूमा प्राथमिकताको व्यवस्था गरेको छ। त्यसैगरी ‘घ’ वर्गका नागरिकहरूले लोकसेवा आयोग लगायतका सरकारी परीक्षा तयारीमा समावेशी कोटा, छुट र विशेष सुविधाका साथै लक्षित अनुदानहरूमा सहभागिताको अवसर पाउने गरेका छन्।

नगरभित्रका कुनै पनि अपाङ्गता भएका नागरिक राज्यले दिएको अधिकार, पहिचान र सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपप्रमुख नेतृत्वको समितिले कार्यविधि बमोजिम पारदर्शी रूपमा नियमित काम गरिरहेको महिला तथा बालबालिका शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया