नेपालगन्ज – विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले बाँके राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको ऐतिहासिक सफलता उजागर गरेको छ। पाटे बाघ संरक्षणकै मुख्य उद्देश्यले सन् २०१० मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा करिब १२ वर्षको अवधिमा बाघको सङ्ख्या चारबाट बढेर ५१ पुगेको हो।
सरकारले सार्वजनिक गरेको पछिल्लो गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा हाल ५१ वटा पाटे बाघ रहेका छन्। सन् २०२२ को गणनामा यहाँ २५ वटा, सन् २०१८ मा २१ वटा र सन् २०१३ मा केवल ४ वटा मात्र बाघ रहेका थिए। सन् २०२२ को तुलनामा बाघको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि हुनुलाई संरक्षण क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार बाघको सङ्ख्यामा आएको यो उल्लेख्य वृद्धिमा प्रभावकारी संरक्षण व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण, पर्याप्त आहारा र अनुकूल वासस्थान प्रमुख कारण हुन्।
चुरे र भावर क्षेत्रमा प्राकृतिक पानीको स्रोत सीमित भए पनि वन्यजन्तुलाई वर्षभरि पानी उपलब्ध गराउन विशेष योजना अन्तर्गत ३० वटा सौर्य ऊर्जाबाट सञ्चालन हुने कृत्रिम पोखरी निर्माण गरिएको कँडेलले जानकारी दिए। साथै, चुरेको फेदीबाट पाइपलाइनमार्फत ल्याइएका पोखरी र वर्षभरि नसुक्ने मुगुवा खोला तथा चंगाई नालाले वन्यजन्तुलाई पर्याप्त पानी पुर्याइरहेका छन्।
“बाघ संरक्षणका लागि उपयुक्त वासस्थान, घाँसे मैदान, आहारा प्रजाति र पानीको उपलब्धता सबैभन्दा महत्त्वपूर्ण मानिन्छ,” अधिकृत कँडेलले भने, “निकुञ्जमा चोरी–सिकारी लगभग शून्य छ। चित्तल, चौका र बँदेलजस्ता आहारा प्रजातिसँगै वयस्क बाघ र डमरु (बच्चा बाघ) पनि प्रशस्त देखिन थालेका छन्, जसले राम्रो प्रजनन दर सङ्केत गर्छ।”
बाघको सङ्ख्या बढेसँगै बाँके राष्ट्रिय निकुञ्जमा पर्यटनको आकर्षण समेत थपिएको छ। सफारीमा निस्किएका पर्यटकहरूले प्रत्यक्ष बाघ देखेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यो निकुञ्ज वन्यजन्तु पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुन थालेको छ।
यता, बाँकेसँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा भने विपरीत अवस्था देखिएको छ। पर्याप्त आहारा र उचित वासस्थानको व्यवस्था हुँदाहुँदै पनि बर्दियामा बाघको सङ्ख्या सन् २०२२ को १२५ बाट घटेर ११२ मा झरेको छ।
स्थानीय समुदायको सहभागिता र प्रभावकारी व्यवस्थापनले बाँकेमा दिलाएको यो सफलतालाई दीर्घकालसम्म कायम राख्न संरक्षण अभियानलाई अझ सुदृढ बनाउनुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिएका छन्।



उज्यालो खबर

