×

विगत केही दिनदेखि बेपत्ता भएकी नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ की २८ वर्षीया सन्तोषी श्रेष्ठको शव भारतीय भूमिमा फेला परेको छ। असार १४ गते साँझदेखि सम्पर्कविहीन भएकी श्रेष्ठको शव नारायणी नदीले बगाएर भारतीय क्षेत्रमा पुर्याएको अवस्थामा फेला परेको हो।
असार १४ गते साँझ ८:०० बजे आफ्नो बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी सन्तोषी त्यसपछि परिवारको सम्पर्कमा थिइनन्। खोजी गर्ने क्रममा उनको स्कुटर तनहुँ र चितवनको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा बेवारिसे अवस्थामा फेला परेको थियो। स्कुटर देवघाटमा भेटिएपछि प्रहरी र स्थानीयले नदी आसपास र सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएका थिए।
पारिवारिक स्रोत र सुरक्षा निकायका अनुसार, असार १७ गते नै त्रिवेणीभन्दा पारि भारतीय क्षेत्रमा एक महिलाको शव फेला परेको थियो। पहिचान नखुलेका कारण भारतीय सुरक्षाकर्मीले कानुनी प्रक्रिया पूरा गरी शवको व्यवस्थापन (डिस्पोज) गरिसकेका थिए।
तर, भारतीय प्रहरीले प्रमाणका रूपमा सुरक्षित राखेका शवको फोटो र भिडियो नेपालमा रहेका आफन्तलाई उपलब्ध गराएपछि उक्त शव सन्तोषीकै भएको पुष्टि भएको हो। फोटो र भिडियोका अतिरिक्त सन्तोषीले हराएको दिन लगाएको कुर्ता, विन्डप्रुफ ज्याकेट र हातको औंठी समेत भारतीय प्रहरीले आफन्तलाई बुझाएको छ। प्राप्त सामान र भिजुअलका आधारमा परिवारले उनको पहिचान सुनिश्चित गरेका हुन्।
भौतिक शरीर भारतीय क्षेत्रमै विसर्जन भइसकेको भए तापनि, धार्मिक एवं पारिवारिक परम्पराअनुसार आज देवघाट धाममा उनको विधिवत् अन्त्येष्टि र उत्तरक्रियाका प्रक्रियाहरू सुरु गरिएको छ। मृतकको कपाल, कुश वा उपलब्ध स्मृति चिह्नलाई प्रतीक मानी हिन्दू संस्कारअनुसार आज देवघाटमा अन्य अन्त्येष्टिका प्रक्रियाहरू सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया