चितवन – खानाको प्लेटमा सिधै ‘शंखेकिरा’ भेटिएपछि सिलबन्दी गरिएको भरतपुरस्थित ‘वैष्णव रेष्टुरेन्ट’लाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना तोकेको छ। खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको पुष्टि भएपछि प्रशासनले उक्त रेष्टुरेन्टमाथि कडा आर्थिक र प्रशासनिक डन्डा चलाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) चीरञ्जीवी शर्माले उपभोक्ता संरक्षण ऐन बमोजिम रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तोकिएको पुष्टि गर्नुभयो। “ग्राहकको स्वास्थ्यमाथि खेलबाड गर्ने र अखाद्य तेल प्रयोग गर्ने रेष्टुरेन्टलाई ३ लाख जरिवाना गरिएको छ,” सहायक सिडिओ शर्माले भन्नुभयो, “अब जरिवाना भुक्तान नगरेसम्म र खाद्य विभागको मापदण्ड पालना गर्ने लिखित प्रतिबद्धता नआएसम्म रेष्टुरेन्टको ताला खोलिने छैन।”
सागमा शंखेकिरा तैरिरहेको भेटिएपछि ग्राहकले तत्काल प्रशासनलाई खबर गरेका थिए। सूचना पाउनासाथ पुगेको आकस्मिक अनुगमन टोलीले रेष्टुरेन्टको भान्छामा झनै भयावह स्थिति फेला पारेको थियो, जहाँ खाना पकाउन प्रयोग भइरहेको तेल समेत अत्यन्तै कमजोर र अखाद्य पाइएको थियो।
प्रशासनले जरिवाना तिरेर मात्र उन्मुक्ति नपाइने भन्दै भविष्यमा पुनः यस्तै लापरबाही दोहोरिएमा रेष्टुरेन्टको दर्ता नै खारेज गरी सदाका लागि बन्द गरिदिने चेतावनी दिएको छ। बजारमा खाद्य स्वच्छता र गुणस्तरका सवालमा कुनै पनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने भन्दै प्रशासनले अनुगमनलाई अझ कडा बनाउने जनाएको छ।




उज्यालो खबर