×

बर्दघाट- नवलपरासी पश्चिमको बर्दघाटस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी (इलेक्ट्रिक) भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक बर्दघाट नगरपालिका-४ तारेभिरमा एकापसमा ठक्कर खाएका हुन् । दुर्घटना आज बिहान ११:१५ बजे भएको हो ।

दुर्घटनामा परि ईभी भ्यानमा सवार चालक, सहचालकसहित १० जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल पठाइएको थियो । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेकाले उनीहरूलाई थप उपचारका लागि दिउँसो १२:०० बजे देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी ६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको चिसापानी अस्पतालमै उपचार भइरहेको छ ।

थप उपचारका लागि भलुही रिफर हुनेहरूमा भारत बैंगलोरका ६५ वर्षीय जगदिश बिएल, चितवन कालिकाका ६५ वर्षीया यनु मगर, रुपन्देही अमरपथका ४० वर्षीय रुप गुरुङ र ईभी चालक रुपन्देही ढावाका ४४ वर्षीय कृष्ण थापा रहेका छन् । उनीहरूको टाउको, ढाड र खुट्टामा चोट लागेको छ ।

काठमाडौँ कपनका बद्री मगर (३३), स्वयम्भूका नेत्रलाल नेवा (२५), ईभी सहचालक रुपन्देहीका गोविन्द थापा (३५), गुल्मीका किरण मुखिया (२१), भारत बैंगलोरका नन्जुण्डे गोडा (६१) र रुपन्देहीका प्रकाश भट्टराई (२८) को अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा संलग्न ट्रकका चालक मकवानपुर थाहा नगरपालिका-११ बस्ने ३५ वर्षीय बुद्धि बहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पनि राजमार्गमा सवारी आवगमन अवरुद्ध नभएको र दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

तपाईको प्रतिक्रिया