चितवन- चितवनको भरतपुर महानगरपालिका–२३, बेलहद्रहीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री विक्रम पाण्डेले राहत सामग्री वितरण गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर ३ का पूर्वसांसद समेत रहनुभएका नेता पाण्डेले पीडित परिवारको घरमै पुगेर आफ्नो व्यक्तिगत लगानीमा दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
अचानक आइलागेको यो ठूलो पारिवारिक र मानसिक संकटको घडीमा पीडित परिवारलाई तत्काल राहत मिलोस् भन्ने उद्देश्यले पाण्डेले खाद्यान्न, लत्ताकपडा, ओछ्यान, डसना, ग्यास चुलो तथा सिलिन्डरलगायतका सामग्री सहयोग गर्नुभएको छ ।
सहयोग हस्तान्तरण गर्दै पूर्वमन्त्री पाण्डेले भन्नुभयो:”यो असह्य दुःखको घडीमा पीडित परिवारलाई केही मात्रामा भए पनि मल्हम लगाउन सकियोस् भनेर मैले व्यक्तिगत रूपमा यो सानो प्रयास गरेको हुँ । प्राकृतिक तथा वन्यजन्तुजन्य विपद्का कारण पीडामा परेका नागरिकलाई हरतरहले साथ दिनु हामी सबैको मानवीय कर्तव्य हो ।”
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको त्रास र क्षति निरन्तर बढिरहेका बेला, पूर्वसांसद पाण्डेले देखाउनुभएको यो व्यक्तिगत अग्रसरता र द्रुत सहयोगको स्थानीय बासिन्दाले उच्च प्रशंसा गरेका छन् । शोकमा डुबेको परिवारलाई तत्कालै चुलो बाल्ने र ओढ्ने-ओछ्याउने सामग्री उपलब्ध गराएर पाण्डेले एक जनप्रतिनिधिको सच्चा अभिभावकत्व निभाएको स्थानीयको भनाइ छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राज्यले दीर्घकालीन योजना ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत स्थानीयले उठाउँदै आएका छन् ।




उज्यालो खबर