×

गैँडाकोट- गैँडाकोट नगरपालिकाको आयोजनामा सञ्चालित आन्तरिक रोजगारी प्रवर्द्धन क्रियाकलाप अन्तर्गतका ब्युटिसियन र मन्टेश्वरी तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको छ। स्थानीयस्तरमै सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालित यी दुवै तालिमहरू ६५ दिनसम्म चलेका थिए।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथि र नगर उपप्रमुख (उपमेयर) शान्ति कोइराला विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। नगरपालिकाका रोजगार संयोजक तारा आचार्यले सञ्चालन तथा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा ईश्वरी आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख मदनभक्त अधिकारीले तालिम सफलतापूर्वक पुरा गरेका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सिकेको सीपलाई व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं उपमेयर शान्ति कोइरालाले महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले यस्ता सीपमूलक तालिमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले तालिममा सिकेको सीपलाई कोठामा मात्र सीमित नराखी व्यवसायिक रूपमा अगाडि बढाउन आग्रह गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, कार्यक्रमका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले आन्तरिक रोजगारी प्रवर्द्धनका लागि जनशक्तिलाई दक्ष बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। तालिमले नागरिकको आर्थिक जीवनस्तर सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले उद्यम सुरु गर्न चाहनेहरूलाई नगरपालिकाले आवश्यक प्रशासनिक तथा प्राविधिक सहयोग गर्ने बताउनुभयो।

समारोहमा गैँडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारी र वडा नम्बर ५ का निवर्तमान अध्यक्ष नवराज कँडेलको पनि आतिथ्यता रहेको थियो। त्यस्तै, ब्युटिसियन तालिमका प्रशिक्षकद्वय सृजना पौडेल र सृजना सोती  मन्टेश्वरी तालिमकी प्रशिक्षक पूजा बस्याल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा ६५ दिने तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया