×

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै भएको साङ्घातिक आक्रमणका मुख्य योजनाकार लालबहादुर तामाङ पक्राउ परेका छन् । गत असार १८ गते गाउँपालिका कार्यालयभित्रै भएको हिंस्रक घटनापछि फरार रहेका निर्माण व्यवसायी तामाङलाई प्रहरीको विशेष टोलीले महोत्तरीमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तामाङलाई थप कानुनी कारबाहीका लागि आजै चितवन ल्याइँदै छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यो घटनाको चुरो नदीजन्य पदार्थ उत्खननको ठेक्का विवादसँग जोडिएको छ । इच्छाकामना गाउँपालिका र कालिका–२ पदमपुरस्थित किङफिसर कन्स्ट्रक्सनबीच ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बैंक ग्यारेन्टीको विषयलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।

निर्माण कम्पनीले गाउँपालिकाको निर्णयविरुद्ध चितवन जिल्ला अदालतमा रिट दायर गरेको थियो । तर, अदालतले गाउँपालिकाकै पक्षमा फैसला सुनाएपछि कन्स्ट्रक्सनका प्रोप्राइटर समेत रहेका तामाङ आक्रोशित बनेका थिए ।

सोही रिसिइबीका कारण असार १८ गते बिहान तामाङको नेतृत्वमा आएको ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षको ढोका भित्रबाट थुनेर उनीमाथि  प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै फरार भएका अभियुक्तहरूको खोजीका लागि चितवन प्रहरीले जिल्ला र बाहिरी जिल्लाका प्रहरी एकाइहरूसँग समन्वय गरी विशेष अपरेसन चलाएको थियो । यसअघि नै घटनामा संलग्न अन्य दुई जनालाई धादिङको गजुरीबाट गाडीसहित नियन्त्रणमा लिइसकेको प्रहरीले आज मुख्य योजनाकार तामाङलाई सर्लाहीबाट समात्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया