×

चितवन। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला भएको चार दिन बितिसक्दा पनि मुख्य योजनाकार अझै फरार रहेका छन्। प्रहरीले घटनामा संलग्न भनिएका ६ जनामध्ये अहिलेसम्म जम्मा २ जनालाई मात्र नियन्त्रणमा लिएको छ।

घटनाका मुख्य योजनाकार ‘किंगफिसर कन्स्ट्रक्सन’का प्रोपाइटर लाल बहादुर तामाङसहित ४ जना अझै पनि प्रहरीको आँखा छलेर फरार छन्। दिनदहाडै सरकारी कार्यालयभित्रै पसी प्रशासनिक प्रमुख र उनको परिवारलाई समेत ज्यान मार्ने धम्की दिने अपराधीहरू चार दिनसम्म पनि पक्राउ नपर्नुले प्रहरी प्रशासनको कार्यक्षमता र तदारुकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

कार्यालय समयमा राष्ट्रसेवक कर्मचारीमाथि भएको यस प्रकारको जघन्य अपराधका दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले अत्यधिक ढिलासुस्ती गरेको भन्दै चौतर्फी आक्रोश र दबाब बढेको छ। शान्ति सुरक्षाको जिम्मेवारी पाएको स्थानीय प्रशासन र प्रहरी यति संवेदनशील मुद्दामा पनि सुस्त देखिनुले अपराधीहरूलाई थप प्रोत्साहन मिल्ने र पीडित पक्ष थप असुरक्षित हुने खतरा बढेको छ।

मुख्य योजनाकार लाल बहादुर तामाङसहित फरार रहेका अन्य ४ जनालाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही अगाडि बढाउन र कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। जबसम्म मुख्य अभियुक्तहरू पक्राउ पर्दैनन्, तबसम्म गाउँपालिकाका कर्मचारीहरूले काममा नफर्कने अडानलाई यथावत् राखेका छन्।

तपाईको प्रतिक्रिया