×

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ भने मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रशासनले जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनामा संलग्न भएको भनिएको गाडी धादिङको गजुरीबाट नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरी खोजी कार्य तीव्र बनाइएको थियो।

“गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ। मुख्य व्यक्तिसहित अन्य संलग्नको खोजी भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

यसअघि बिहीबार बिहान इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी केही व्यक्तिले सामूहिक रूपमा कुटपिट गरेका थिए। घटनापछि उनी घाइते भई इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत छन्।

बस्नेतका अनुसार आक्रमणकारीमध्ये एक जना निर्माण व्यवसायी रहेका छन्। खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट पक्षमा फैसला पाएपछि त्यसको रिसइबी साँध्न आफूलाई आक्रमण गरिएको उनले बताएका थिए।

उनले आक्रमणका क्रममा ज्यान तथा परिवारलाई समेत धम्की दिइएको दाबी गरेका छन्। “हामीलाई मुद्दा किन हराइस् भन्दै कार्यकक्षमै आएर कुटपिट गरे र परिवारलाई समेत जे पनि गर्न सक्ने धम्की दिए,” उनको भनाइ थियो।

घटनापछि प्रहरीले कुटपिट, धम्की तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रशासनका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया