गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जंगली बँदेल नियन्त्रणका लागि थापेको विद्युतिय पासो (करेन्ट) मा परेर एक महिलाको दुखद मृत्यु भएको छ। आफ्नै श्रीमानले बारीमा राखेको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले जंगली बँदेलबाट बालीनाली जोगाउन आफ्नो घरभन्दा करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टको पासोमा झुक्किएर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन्।
घाइते हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याइए पनि चिकित्सकले आज बिहान ३:२५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
बारीमा असुरक्षित रूपमा करेन्ट प्रवाह गरी ज्यान लिने घटना घटेपछि प्रहरीले आरोपी श्रीमान् भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति र थप विवरणबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
जंगली जनावर धपाउन वा मार्नका लागि यसरी बस्ती र खेतबारीमा करेन्ट छोड्नु गैरकानुनी हुनुका साथै अत्यन्तै जोखिमपूर्ण मानिन्छ, जसका कारण समय-समयमा यस्ता भयानक दुर्घटनाहरू हुने गरेका छन्।

उज्यालो खबर