×

बुलिङटार- बुलिङटार गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँपालिकालाई समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री स्थानीय शासनको दिशामा अघि बढाउने स्पष्ट खाकासहित गाउँसभाले कुल ५० करोड ५७ लाख ३४ हजार २ सय २८ रुपैयाँ बराबरको बजेट पारित गरेको हो। अधिवेशनमा गाउँसभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिल माया राना मगरले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो।

पारित नीति, कार्यक्रम तथा बजेटले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो मुख्य केन्द्रविन्दु बनाएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनको आधुनिकीकरण, स्थानीय उत्पादन वृद्धि र उद्यमशीलताको प्रवर्द्धनलाई विशेष जोड दिएको छ।

यसैगरी, गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता, तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र लक्षित वर्गको सशक्तीकरणका लागि बजेटमा प्राथमिकता दिइएको छ। स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्दै दिगो पूर्वाधार निर्माणको यात्रालाई निरन्तरता दिने संकल्प समेत गाउँपालिकाले गरेको छ।

स्थानीय आवश्यकता, जनअपेक्षा र उपलब्ध स्रोत–साधनको विवेकपूर्ण परिचालन गर्ने गरी तर्जुमा गरिएको यो बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई सबल बनाउँदै समावेशी, दिगो र परिणाममुखी विकासको बलियो आधार तयार गर्ने विश्वास गाउँपालिकाले लिएको छ।

बुलिङटारको समग्र समृद्धि, सुशासनको सुदृढीकरण र नागरिकको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने साझा प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाले यस बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण सरोकारवालाहरूबाट रचनात्मक सहयोग, सहकार्य र सहभागिताको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया