भरतपुर- चितवनको एक प्रतिष्ठित होटलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको पाइएपछि प्रशासनले कडा कारबाही गरेको छ । भरतपुर विमानस्थल अगाडि रहेको ‘होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालि’लाई जिल्ला प्रशासन कार्यालय चितवनले नगद ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।
घटनाको सुरुवात आज बिहान भएको हो, जब चितवन भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ सो होटलमा ब्रेकफास्टका लागि पुगेका थिए । मन्त्री गुरुङले अर्डर गरेको अण्डाको अम्लेट खाँदै गर्दा त्यसमा अप्रत्याशित रूपमा ‘माछाको काँडा’ भेटिएको थियो । देशको गृहमन्त्रीले खाने खाद्यान्नमै यस्तो त्रुटि भेटिएपछि प्रशासन तत्काल एक्सनमा उत्रिएको थियो ।
अनुगमन गर्दा खुल्यो थप लापरबाही अम्लेटमा काँडा भेटिएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले होटलको भान्छामा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटलले थप लापरबाही गरिरहेको फेला पर्यो ।
“गृहमन्त्रीज्यूको खानामा कैफियत देखिएपछि हामीले तत्कालै अनुगमन टोली खटायौँ । भान्छा जाँच गर्दा त्यहाँ अस्वस्थकर र गुणस्तरहीन तेल प्रयोग भइरहेको र तरकारीहरू पनि ताजा नभएको पाइयो,” जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
प्रशासनको कडा चेतावनी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले एक विज्ञप्ति जारी गर्दै होटललाई कारबाही गरिएको पुष्टि गरेका छन् । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष र प्रतिकूल असर पार्ने गरी गुणस्तरहीन खाद्यान्न प्रयोग गरेको र स्वच्छतामा ध्यान नदिएकाले बजार संरक्षण ऐन बमोजिम ३ लाख रुपैयाँ जरिवाना तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
भीआईपी मात्र नभई आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने जुनसुकै होटल वा व्यवसायलाई कानुनी दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ । यस घटनाले जिल्लाका अन्य होटल व्यवसायीहरूमाझ पनि खाद्य सुरक्षा र सरसफाइको विषयलाई लिएर हलचल पैदा गरिदिएको छ ।


उज्यालो खबर