बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरा चोकमा मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रुलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए। दुर्घटना लगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया घर भई हाल काठमाडौं बस्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौंको टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका पैदलयात्रुको भने हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

उज्यालो खबर