गैँडाकोट – बिहानको ठीक ९ बज्छ। गैँडाकोट नगरपालिका वडा नं. १८ का १८ जना दिदीबहिनीहरू हातमा कपडा, कैँची र इन्चिटेप बोकेर एउटै आँगनमा भेला हुन्छन्। उनीहरूको दैनिकी अचेल बदलिएको छ। घरको चुल्होचौको र मेलापातको नियमित धपेडीबाट केही समय छुटाएर उनीहरू एउटा नयाँ सपना बुन्न जुट्छन्। यो क्रम बेलुकी ५ बजेसम्म निरन्तर चल्छ।
वडा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत गत वैशाख १४ गतेदेखि यहाँ महिलाहरूका लागि नि:शुल्क टेलरिङ (सिलाई-कटाई) तालिम सञ्चालन भइरहेको छ। झण्डै दुई महिना चल्ने यो तालिम असारको पहिलो हप्ता समापन हुँदैछ।
तालिम कक्षमा पुग्दा सहभागी दिदीबहिनीहरूको मुहारमा एउटा छुट्टै चमक र उत्साह देखिन्छ। मेसिनको ‘घ्यारर्र घ्यारर्र’ आवाजसँगै उनीहरूका हातहरू कपडाको नाप लिन र काट्न व्यस्त देखिन्छन्। सुरुका दिनमा सिलाई मेसिन छुन समेत धकाउने हातहरू अहिले आकर्षक पहिरन तयार पार्न सक्ने भइसकेका छन्।
तालिममा सहभागी केही महिलाहरू त तालिम सकिएलगत्तै आफ्नै व्यवसाय सुरु गर्ने योजनामा छन्। “पहिले अरूले सिलाएको कपडा हेरेर बस्नुपथ्र्यो, अहिले आफैँले काट्न र सिलाउन सक्ने भएकी छु,” एक सहभागीले खुसी हुँदै भनिन्, “तालिम सकिएपछि गाउँमै सानो पसल थापेर आफैँ उद्यमी बन्ने सोच बनाएकी छु। अब श्रीमान् वा घरको खर्चका लागि मात्र अरूको भर पर्नु पर्दैन।”
दिदीबहिनीहरूलाई व्यावसायिक रूपमा दक्ष बनाउन प्रशिक्षक लक्ष्मी नेगी अहोरात्र खटिनुभएको छ। बिहान ९ देखि बेलुकी ५ बजेसम्मको लामो समय दिँदा पनि सहभागीहरूको ऊर्जा पटक्कै घटेको छैन।
प्रशिक्षक नेगी भन्नुहुन्छ, “दिदीबहिनीहरूको सिक्ने चाहना र लगनशीलता साँच्चै लोभलाग्दो छ। ८ घण्टाको समय कसरी बित्छ, पत्तै हुँदैन। उनीहरूको मुहारको खुसीले मलाई पनि अझ राम्रोसँग सिकाउने ऊर्जा दिन्छ। सुरुमा सामान्य कखरा सिकेजस्तै गरी आएका उनीहरू अहिले व्यवसायी बन्न सक्ने स्तरमा पुगिसकेका छन्। मलाई विश्वास छ, यी १८ जनामध्ये धेरैजना भोलि सफल उद्यमी बन्नेछन्।”
यो तालिम केवल औपचारिकतामा मात्र सीमित नहुने वडा कार्यालयको दाबी छ। महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यसहित तालिम आयोजना गरिएको वडा अध्यक्ष तिलबहादुर चितौरे बताउनुहुन्छ।
“हाम्रो मुख्य उद्देश्य वडाका महिलाहरूलाई घरको घेराभित्र मात्र सीमित नराखेर आत्मनिर्भर बनाउनु हो,” वडा अध्यक्ष चितौरेले भन्नुभयो, “दिदीबहिनीहरूले जुन उत्साह र मेहेनतका साथ बिहान ९ देखि ५ बजेसम्म समय दिएर सीप सिकिरहनुभएको छ, यसले मलाई निकै उत्साहित बनाएको छ। तालिम सकिएपछि यो सीप बक्सभित्र थन्किएर बस्नेछैन। तालिम पश्चात आफैँ उद्यमशील बन्न चाहने दिदीबहिनीहरूका लागि वडा कार्यालयले मेसिन खरिद, प्रविधि सहयोग वा अन्य आवश्यक समन्वय गरेर थप प्रोत्साहन गर्नेछ। हामी उहाँहरूको उद्यम यात्रामा सँगै रहनेछौँ।”
असारको पहिलो हप्ता तालिम सकिँदा यी १८ जना दिदीबहिनीहरू केवल तालिमको प्रमाणपत्र मात्र लिएर घर फर्किने छैनन्, उनीहरूसँग आफ्नै खुट्टामा उभिने आत्मविश्वास, हातमा एउटा दिगो सीप र उद्यमी बन्ने पक्का सपना हुनेछ। गैँडाकोट १८ का महिलाहरूको यो सक्रियता र वडाको यो प्रयास स्थानीय तहमा महिला सशक्तीकरणको एउटा सुन्दर र उदाहरणीय नमुना बनेको छ।



उज्यालो खबर




