काठमाडौँ । भारतीय प्राध्यापक एवं नेपाल मामिलाका जानकार एसडी मुनीले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) को सीमा समस्या सम्बन्धी अभिव्यक्तिको प्रशंसा गरेका छन् । मेयर शाहले नेपाल-भारत सीमा समस्या एकतर्फी मात्र नरहेको भनी दिएको अभिव्यक्ति ‘साहसिक’ भएको भन्दै मुनीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
मेयर शाहको कदमलाई समर्थन गर्दै मुनीले लेखेका छन्, “नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने कुरा साहसिक रूपमा स्वीकार गरेकोमा मेयर शाह बधाईका पात्र छन् ।”
आफ्नो टिप्पणीका क्रममा मुनीले सुस्ता क्षेत्रको सीमा विवादबारे पनि चर्चा गरेका छन् । नदीको बहाव परिवर्तन भएका कारण सीमा क्षेत्रमा फेरबदल आएको दाबी गर्दै उनले लेखेका छन्, “नदीको बहाव परिवर्तनको परिणाम स्वरूप सुस्तामा नेपाल भारतको क्षेत्रमा बसेको छ ।”
प्राध्यापक मुनीले नेपाल र भारतबीचको सीमा विवादलाई तेस्रो पक्ष वा अन्तर्राष्ट्रिय मञ्चमा लैजाने प्रयासहरूप्रति भने असहमति जनाएका छन् । सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न खोजिए त्यसको परिणाम प्रत्युत्पादक (उल्टो) हुन सक्ने चेतावनी समेत उनले दिएका छन् । दुई देशबीचको कूटनीतिक संवादबाटै यस्ता समस्याको समाधान खोजिनुपर्ने उनको आशय छ ।



उज्यालो खबर




