×

गैँडाकोट- राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट–बुलिङटार सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै यस करिडोरको गैँडाकोट–बुलिङ क्षेत्र अन्तर्गतका विभिन्न तीन प्रमुख स्थानमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित बनेका छन्।

पहाडी भेगका नागरिकका लागि ‘लाइफलाइन’ मानिएको यो सडकखण्डका जोखिमयुक्त तीन स्थानमा वर्षायाममा सामान्य पानी पर्नासाथ लेदोसहितको पहिरो खस्ने र सडक नै भासिने समस्या देखिँदै आएको छ। विगतका वर्षहरूमा पनि सोही क्षेत्रमा ठूला–ठूला पहिरो जाँदा हप्तौँसम्म यातायात ठप्प हुने गरेको थियो।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले करिडोर आयोजनाको ढिलासुस्ती र अस्थायी मर्मतका कारण पहाडी क्षेत्रका जनताले वर्षेनी सास्ती खेप्नुपरेको बताउनुभएको छ।”गैँडाकोट–बुलिङटार खण्डका यी तीनवटा मुख्य क्षेत्रमा पहिरोको जोखिम यति धेरै छ कि, सामान्य वर्षा हुनासाथ पहाड पूरै थुनिने अवस्था आउँछ,” अध्यक्ष सुनारीले भन्नुभयो, “बर्खा लागेपछि डोजरले ढुङ्गा-माटो पन्छाउने काम मात्र गरेर हुँदैन।

गाउँपालिकाको स्रोत र साधनले यो ठूलो पहिरो रोक्न सम्भव छैन। त्यसैले कालिगण्डकी करिडोर आयोजनाले नै यहाँ बजेट छुट्याएर दीर्घकालीन र स्थायी प्रकृतिको पर्खाल वा प्रविधि जडान गर्नुपर्छ। यसतर्फ आयोजनाको ध्यान बेलैमा जाओस्।”

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष शिबकान्त तिवारीले हरेक वर्ष एउटै ठाउँमा पहिरो खसिरहँदा पनि आयोजनाले दिगो समाधान नखोजेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।

“बर्खामा पहिरो सोहोर्ने र हिउँदमा फेरि त्यही ठाउँमा माटो खार्ने चक्रले राज्यको लगानी मात्र बालुवामा पानी भइरहेको छ,” प्रवक्ता तिवारीले भन्नुभयो, “गैँडाकोट वडा नं. ३ को क्षेत्र र यस आसपासका यी ३ वटा जोखिमयुक्त स्थानमा अब ‘टालटुले’ मर्मतले पुग्दैन। हामीले नगर कार्यपालिका र वडाको तर्फबाट पनि आयोजनालाई घच्घच्याइरहेका छौँ।  आयोजनाले तत्काल वैज्ञानिक र दिगो इन्जिनियरिङ समाधान तर्फ कदम चाल्नुपर्छ।”

भौगोलिक रूपमा कमजोर रहेको यस क्षेत्रमा वर्षाको समयमा जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने भन्दै स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेका छन्। लगातार पानी परेको बेला वा रातको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रामा निस्कनुअघि सडकको ताजा अवस्था बुझ्न अनुरोध गरिएको छ। नागरिकको सुरक्षित यात्रा गर्ने अधिकार सुनिश्चित गर्न करिडोर आयोजनाले अब बहानाबाजी नगरी तत्काल ठोस कदम चाल्नुपर्ने दबाब बढेको छ।

तपाईको प्रतिक्रिया