×

पोखरा । पोखरा महानगरपालिका ले फिर्केखोला को खोलाघर मिचेर निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना आगामी जेठ ९ गतेभित्र हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइए डोजर प्रयोग गरेर हटाइने तथा त्यस क्रममा लाग्ने सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने जनाएको छ ।

महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु हुने फिर्केखोला वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ को गाईघाटमा पुगेर फेवाताल मा मिसिन्छ । सो क्षेत्रमा खोलाघर अतिक्रमण गरी करिब १६० वटा संरचना निर्माण गरिएको महानगरको भनाइ छ ।

यसअघि महानगरले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाविरुद्ध मुद्दा परेपछि विषय उच्च अदालत पोखरा पुगेको थियो । अदालतले महानगरको सूचनाविरुद्ध उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने फैसला गरेपछि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो ।

महानगरले प्राविधिक टोलीमार्फत स्थलगत नापजाँच गरी खोलाको सीमा निर्धारण गरेर पोल गाडिसकेको जनाएको छ । अदालतको फैसला र गत वैशाख ४ गते जारी सूचनालाई आधार मानेर अन्तिम सूचना जारी गरिएको महानगरले उल्लेख गरेको छ ।

महानगरले जेठ ९ गतेभित्र स्वेच्छाले संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गर्दै अन्यथा कानुनी प्रक्रिया अनुसार हटाइने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया