×

चितवन -निर्माण व्यवसायीहरूले उठाएका मागलाई लिएर देशभर सुरु भएको आन्दोलन अन्तर्गत भरतपुरस्थित निर्माण व्यवसायी संघ चितवनले आज पनि धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

संघले जिल्लाका विभिन्न सरकारी कार्यालयहरू—सघन शहरी तथा भवन निर्माण कार्यालय, सिंचाइ तथा जलस्रोत कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लगायतका निकायहरूमा पुगेर धर्ना दिँदै ज्ञापनपत्र बुझाएको हो।

संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेका अनुसार पुरानै दररेटमा निर्माण कार्य गर्दा व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका छन्। उनले समयमै दररेट समायोजन नभएकाले व्यवसायीहरू घरजग्गा बेच्नुपर्ने अवस्था आएको दाबी गरे।

त्यस्तै, संघले मूल्यवृद्धि समायोजन, म्याद थप, बीमा सुनिश्चितता तथा व्यवसायीमाथि हुने अनावश्यक धरपकड रोक्नुपर्ने माग राखेको छ। यी माग सम्बोधन नभएमा निर्माण कार्य ठप्प पार्ने तथा आफ्ना उपकरण र साधनहरूको चाबी सरकारलाई बुझाउनेसम्मका कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

संघका महासचिव पुष्कर अधिकारीका अनुसार जिल्लामा यसअघि नै पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र भरतपुर महानगरपालिकामा समेत धर्ना तथा ज्ञापनपत्र बुझाइसकिएको छ।

सरकारले हालसम्म मागप्रति चासो नदेखाएको भन्दै निर्माण व्यवसायीहरूले आफूहरू आर्थिक र मानसिक दबाबमा परेको गुनासो गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया