×

चितवन- दासढुंगा जीप दुर्घटना को स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले आइतबार दासढुंगामा श्रद्धाञ्जली सभा आयोजना गर्दै मदनकुमार भण्डारीजीवराज आश्रित प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेको छ।

भरतपुरस्थित जिल्ला पार्टी कार्यालयबाट मोटरसाइकल र्‍यालीसहित दासढुंगा पुगेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्यार्पण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँहरूले पुर्‍याएको योगदानको स्मरण गरेका थिए। कार्यक्रममा सहभागीहरूको उपस्थितिले दासढुंगा क्षेत्र केही समय भावुक र राजनीतिक स्मृतिले भरिएको देखिन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली ले मदन–आश्रितले अघि सारेको विचार र राजनीतिक दृष्टिकोणले आज पनि पार्टी पङ्क्तिलाई सङ्घर्षमा दृढ भएर अघि बढ्न प्रेरणा दिइरहेको बताए।

त्यसैगरी बागमती प्रदेशसभा संसदीय दलका नेता तथा एमाले केन्द्रीय सदस्य जेएन थपलिया ले नेता द्वयको तेजस्वी सोच र जनमुखी राजनीतिक दृष्टिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

जिल्ला अध्यक्ष कमलराज पाठक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव प्रकाश ढुंगाना ले सञ्चालन गरेका थिए।

एमाले चितवनले “मदन आश्रित स्मृति दिवस” अन्तर्गत पाँच दिने कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमअन्तर्गत जेठ ४ गते “जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला समन्वय समितिको सभाकक्षमा बिहान ११ बजे हुने उक्त कार्यक्रम मदन भण्डारी फाउन्डेसन ले आयोजना गर्ने जनाएको छ।

यस्तै, जेठ ५ गते पश्चिम चितवनको गाजीपुरस्थित मदन पार्क मा पनि विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने एमाले चितवनले जनाएको छ।

वि.सं. २०५० साल जेठ ३ गते भएको रहस्यमय जीप दुर्घटनामा मदनकुमार भण्डारी र जीवराज आश्रितको निधन भएको थियो। एमालेले उक्त घटनालाई आजसम्म पनि रहस्यमय हत्या भन्दै आएको छ।

तपाईको प्रतिक्रिया