×

गैँडाकोट – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा सम्पन्न “ओसीईएम एसईई फेस्ट २०२६” को तेस्रो तथा अन्तिम दिन छात्रवृत्ति घोषणा, पुरस्कार वितरण तथा विविध सांस्कृतिक  कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको फेस्टमा नवलपुरसहित चितवन र आसपासका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कलेज परिसरमा आयोजित समापन समारोहमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न प्रतियोगिताको अन्तिम चरण, सम्मान तथा छात्रवृत्ति वितरण गरिएको थियो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कक्षा ११ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको आयोजकले जनाएको छ भने सहभागी विद्यार्थीहरूलाई छ महिनासम्मको छात्रवृत्तिको व्यवस्था गरिएको थियो।

फेस्ट अन्तर्गत आयोजित एसईई बास्केटबल प्रतियोगितामा चितवन इङ्ग्लिस विद्यालय प्रथम बनेको थियो भने अंकुरम विद्यालय द्वितीय भएको थियो। त्यसैगरी प्रश्नोत्तरी प्रतियोगितामा भरतपुर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दा टिम श्याडो द्वितीय बनेको थियो। नृत्य प्रतियोगितातर्फ रत्ननगर कौडा समूह विजेता बनेको थियो भने पल्स बस्नेत द्वितीय घोषित भएका थिए। विजेता टोली तथा विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

फेस्टमा खेलकुद, प्रश्नोत्तरी, नृत्य, सांगीतिक प्रस्तुति तथा खानाका परिकारसहितका स्टलहरूले विद्यार्थी तथा अभिभावकको आकर्षण बढाएको थियो। कार्यक्रम अवधिभर कलेज परिसर उत्साहपूर्ण बनेको थियो भने सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै कलेजका प्रचार्य प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीको सहभागिता आवश्यक रहेको उल्लेख गरे।

“विद्यालय तह पार गरेर उच्च शिक्षातर्फ अघि बढिरहेका विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशीलता विकास गर्न यस्ता फेस्ट प्रभावकारी माध्यम बन्न सक्छन्,” उनले भने, “ओसीईएमले केवल शैक्षिक ज्ञान मात्र नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिँदै आएको छ।”

प्राचार्य भण्डारीले भविष्यमा पनि विद्यार्थी केन्द्रित यस्ता कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले एसईईपछि उच्च शिक्षाको सही गन्तव्य छनोट गर्न विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने उद्देश्यले पनि फेस्ट आयोजना गरिएको बताए।

 “ओसीईएम एसईई फेस्ट २०२६” ले विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै नयाँ सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र सिर्जनात्मक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको कलेजले जनाएको छ।

तपाईको प्रतिक्रिया