नवलपुर – नवलपुरकाे कावासोती नगरपालिकाले वर्षौंदेखि एलानी (सरकारी) जग्गामा बसोबास गर्दै आएका नागरिकलाई घरबारविहीन बनाउने काममा नलाग्ने स्पष्ट पारेको छ। नगरप्रमुख विष्णु प्रसाद भूसालले जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिबद्धता जनाइएको हो।
विज्ञप्तिअनुसार कावासोती क्षेत्रमा लामो समयदेखि हजारौं परिवार सार्वजनिक जग्गामा बसोबास गर्दै आएका छन्। ती स्थानमा घर निर्माणसँगै सडक, विद्यालय जस्ता आधारभूत संरचना समेत विकास भइसकेको उल्लेख गरिएको छ। यसले नागरिकको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध जोडिएको भन्दै नगरपालिकाले संवेदनशील ढंगले विषयलाई हेर्ने बताएको छ।
नगरप्रमुख भूसालले जारी गरेको विज्ञप्तिमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने कानुनी दायित्व रहे पनि वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गरेर समस्या झन् जटिल बनाउने कदम नचालिने स्पष्ट पारिएको छ। बरु संघीय सरकारसँग समन्वय गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोजिने जनाइएको छ।
भूमिहीन, सुकुम्बासी तथा एलानी जग्गामा आश्रित परिवारको हितलाई केन्द्रमा राख्दै आवश्यक परे कानुनी प्रक्रिया मार्फत बसोबासको व्यवस्थापन र अधिकार सुनिश्चित गर्नेतर्फ पहल गरिने विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, अबदेखि सार्वजनिक जग्गामा नयाँ अतिक्रमण हुन नदिने र त्यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गरिने पनि नगरपालिकाले जनाएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको आवास अधिकारबीच सन्तुलन कायम गर्दै अघि बढ्ने नीति लिइएको बताइएको छ।
नगरपालिकाको यस धारणा सार्वजनिक भएसँगै कावासोती क्षेत्रका भूमिहीन तथा दीर्घकालदेखि बसोबास गर्दै आएका नागरिकमा केही राहत महसुस भएको छ।



उज्यालो खबर