×

चितवन । फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ।

महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेलले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको व्यापक सहभागिता रहनेछ।

भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, संगठनात्मक संरचना निर्धारण तथा भावी कार्यदिशाबारे विस्तृत बहस गरिने कार्यक्रम रहेको जनाइएको छ। साथै, व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली र व्यवसाय प्रवर्द्धनका विषयमा समेत गहन छलफल हुने बताइएको छ।

संयोजक पौडेलले सबै जिल्ला संघहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस भेलाले फेन्सी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको संस्थागत विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया