चितवन – भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि डोजर प्रयोग गरिएको घटनाप्रति चितवनका ११ राजनीतिक दलहरूले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन्।
संयुक्त विज्ञप्तिमा राज्यले गरिब तथा भूमिहीन नागरिकमाथि दमनकारी शैली अपनाएको आरोप लगाइएको छ। दलहरूले संविधानले सुनिश्चित गरेको आवासको अधिकारमाथि हस्तक्षेप भएको उल्लेख गर्दै डोजर प्रयोग गरी बस्ती हटाउने कार्य अमानवीय भएको बताएका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी लगायत ११ दलका जिल्ला तहका नेताहरूको हस्ताक्षर रहेको छ। उनीहरूले सुकुम्बासी समस्या समाधान गर्ने नाममा राज्यले बल प्रयोग र त्रास सिर्जना गरेको आरोपसमेत लगाएका छन्।
दलहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी नागरिकलाई विस्थापित गर्नु मानवअधिकारविरुद्ध भएको जनाउँदै यस्तो कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन्। साथै, समस्या समाधानका लागि वार्ता, सहमति र दीर्घकालीन नीति अपनाउन आग्रह गरेका छन्।



उज्यालो खबर