गैँडाकोट – गैँडाकोट नगरपालिकाले नगरभित्र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन ५५ जना “नगर विपद् व्यवस्थापन स्वयंसेवक” सूचीकृत गर्ने भएको छ। नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउन इच्छुक नागरिकबाट आवेदन आह्वान गरेको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार स्वयंसेवकहरूलाई विपद् पूर्वतयारी, जनचेतना अभिवृद्धि, उद्धार कार्य, राहत वितरण, पुनःस्थापना तथा सूचना व्यवस्थापनमा परिचालन गरिनेछ। यसका लागि नेपाल सशस्त्र प्रहरी बलको सहयोगमा आवश्यक तालिमसमेत प्रदान गरिने जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेका अनुसार विपद्को समयमा तत्काल परिचालन गर्न सकिने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यसहित स्वयंसेवक सूचीकृत प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार १८ वर्ष उमेर पूरा गरेका, सेवा भावना, अनुशासन र सहकार्यप्रति रुचि भएका नागरिकले आवेदन दिन सक्नेछन्।
त्यसैगरी प्राथमिक उपचार, उद्धार कार्य वा अन्य प्राविधिक सीप भएका आवेदकलाई प्राथमिकता दिइनेछ। कुनै पनि फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।इच्छुक व्यक्तिले गैँडाकोट नगरपालिकाको प्रशासन शाखा वा सम्बन्धित वडा कार्यालयमा नागरिकताको प्रतिलिपिसहित निवेदन पेश गर्न सक्नेछन्।
नगरपालिकाले “सजग समुदाय, सुरक्षित भविष्य” भन्ने नारासहित नागरिक सहभागितामार्फत विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।


उज्यालो खबर