×

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालिगण्डकी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार फलफुल चोकबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४-००२ प २६२५ नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारामा रोकिराखिएको प्र.नं.२-०४-००१ ख ००८२ नम्बरको ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटरको पछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कालिगण्डकी अस्पताल हुँदै भरतपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा साँझ ५:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, स्कुटर चालक शंकर श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ हात र बायाँ आँखामाथि चोट लागेको छ र अवस्था मध्यम रहेको जनाइएको छ। उनलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ।

दुर्घटनामा संलग्न ट्रकका चालक मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधन पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया