×

चितवन – उच्च शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित आरम्भ कलेजले आयोजना गरेको तीन दिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम उत्साहजनक सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको छ।

युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा देशभरका १५ भन्दा बढी निजी तथा सामुदायिक शैक्षिक संस्थाबाट ३५ भन्दा बढी प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागिहरूको उत्साहले कार्यक्रमलाई अझ प्रभावकारी र जीवन्त बनाएको थियो।

तालिम अवधिभर अनुसन्धानका आधारभूतदेखि उन्नत पक्षसम्मका विषयहरू समेटिएका थिए। अनुसन्धानको परिचय, समस्या पहिचान, प्रस्ताव लेखन, तथ्यांक संकलन तथा विश्लेषण, प्रतिवेदन तयार पार्ने प्रक्रिया र अनुसन्धान नैतिकता जस्ता महत्वपूर्ण विषयमा गहन प्रशिक्षण प्रदान गरिएको थियो। अनुभवी प्रशिक्षकहरू-डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुङ्गाना र डा. गुणराज क्षेत्री—ले आफ्ना व्यावहारिक अनुभवसहित सहभागीहरूलाई मार्गदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धान क्षमता अभिवृद्धि गर्न यस्ता तालिमहरू अपरिहार्य रहेको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

समापन समारोहमा प्रमुख अतिथिले अनुसन्धानलाई ज्ञान, नवप्रवर्तन र सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे।

कार्यक्रमको अन्त्यमा प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी, ज्ञानवर्धक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया